हिउँले ढकमक्क सिमकोट (तस्वीरहरु)
दुई दिनदेखि परेको हिउँले हुम्ला सदरमुकाम सिमकोट सेताम्य भएको छ। तापक्रम माइनसमा झरेपछि चिसो अत्यधिक बढेको छ।
सिमकोटमा २३ माघ रातिदेखि नै हिउँ पर्न थालेको हो। आज बिहान घाम लागेपनि चिसो कम भएको छैन।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज सिमकोटको न्यूनतम तापक्रम माइनस ९ डिग्री सेन्टिग्रेटमा झरेको छ। हिजो पनि यहि सिमकोटको न्यूनतम तापक्रम यहि आसपास रहेको थियो।
चारैतिर हिउँ नै हिउँ भएकाले चिसो सिरेटो चलिरहेको छ। जसले गर्दा घाम लागेपनि स्थानीयवासी घरबाहिर निस्केका छैनन्।
हिउँले सिमकोट विमानस्थल पनि छोपिएको छ। दुई दिनदेखि हवाइसेवा पनि अवरुद्ध भएको छ।
दुई फिटसम्म हिउँ जमेकाले बाटोघाटो पनि अवरुद्ध भएका छन्। स्थानीयवासीले खच्चडमै सरसामान ढुवानी गरिरहेका छन्।