सरकारले बेवास्ता गरेपछि भारतमा किसानको चक्काजाम
कृषि कानूनविरुद्ध आन्दोलनरत किसानले आज भारतमा चक्काजाम आह्वान गरेका छन्। किसानको चक्काजामलाई ध्यानमा राखेर दिल्लीका १० वटा मेन्ट्रो स्टेसन बन्द गरिएका छन्।
कृषि कानुनको विरोध गरिरहेका ४० किसान संगठनले आज दिउसो १२ देखि ३ बजेसम्म देशव्यापी चक्काजामको आह्वान गरेका हुन्। आन्दालनरत किसानले चक्काजाम शान्तिपूर्ण हुने बताएका छन्।
देशव्यापी चक्काजाममा अत्यावश्यक सेवा एम्बुलेन्स, स्कुल बसलाई भने नरोकिने भएको छ। दिल्ली–एनसीआर, उत्तराखण्ड र उत्तर प्रदेशलाई भने यसमा समेटिएको छैन।
किसानको चक्काजामलाई ध्यानमा राखेर भारतमा सुरक्षाकर्मीको व्यापक परिचालन गरिएको छ। दिल्ली प्रहरीले १० वटा मेट्रो स्टेसन बन्द गरेको छ भने १२ वटा मेट्रो स्टेसनलाई अलर्ट राखेको छ। दिल्लीमा २८५ मेट्रो स्टेसन छन्।
सञ्चारमाध्यमका अनुसार भारतीय किसान युनियनका प्रवक्ता राकेश टिकैतले दिल्लीमा सधैं जामजस्तै हुने भएकाले चक्काजाम नगरिएको बताएका छन्। उत्तराखण्ड र उत्तर प्रदेशका किसानलाई जतिवेला पनि आन्दोलनका लागि बोलाउन पर्ने अवस्था आउने भएकाले चक्काजाम नगरिएको टिकैतकाे भनाइ छ।
यसअघि २६ जनवरीमा किसानले दिल्लीमा ट्याक्टर र्याली निकालेका थिए। त्यसदिन केही हिंसात्मक घटना भएकाले आज भने सुरक्षाकर्मीलाई अलर्ट राखिएको हाे।
दिल्लीमा प्रहरी, अर्धसैनिक र रिजर्भ फोर्सका ५० हजार जवान तैनाथ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सुरक्षाकर्मी भएका सबै गाडीमा जाली लगाइएको छ।
भारत सरकारले १ फेब्रुअरीमा ल्याएको बजेटमा किसानको मागलाई बेवास्ता गरिएकाले चक्काजाम गर्नु परेको भारतीय किसान युनियनका प्रवक्ता टिकैतले बताए। त्यस्तै, किसान धर्नामा बसिरहेको दिल्लीको सीमा क्षेत्रमा इन्टरनेट बन्द गरिएको छ। २६ जनवरीमा र्यालीमा सहभागी किसानका ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएकाले पनि चक्काजाम गर्नु परेको उनले बताए।
किसान आन्दोलन गरिरहेको दिल्लीको सीमा क्षेत्र सिंघु बोर्डरमा प्रहरी ब्यारिकेड लगाएको छ। यस क्षेत्रका सडकमा प्रहरीले नै अबरोध गरेकाले गाडी चल्न सकेका छैनन् भने किसान चक्काजामका लागि पैदल हिडिरहेका छन्।
किसानको आन्दोलनलाई विपक्षी दलहरुले समर्थन गरेका छन्। भारतीय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले किसानको चक्काजामलाई समर्थन गरेका छन्। उनले किसानको पक्षमा उभिन सबैलाई आह्वान समेत गरेका छन्।