आईपीएलको अक्सनका लागि नेपालका आठ खेलाडी सिफारिश
इन्डियन प्रिमियर लिग (आईपीएल)को अक्सनका लागि नेपालका आठ खेलाडीको नाम सिफारिश गरिएको छ।
आईपीएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिश गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। लामिछानेले यसअघि पनि आईपीएल खेलिसकेका छन्।
यसपटक क्यान मार्फत नै आठवटै खेलाडीले आफ्नो नाम आईपीएलका लागि दर्ता गराइएको हो। आईपीएलका लागि छनोट हुने वा नहुनेबारे आगामी फागुन ६ गते टुङ्गो लाग्नेछ। छनोट भारतको चेन्नइमा हुनेछ।
आईपीएलका लागि नेपालका आठसहित १५ देशका एक हजार ९७ खेलाडीले नाम दर्ता गराएका छन्। नाम दर्ता गराउनेमा भारतका ८१४ खेलाडी छन्।
आईपीएलका लागि अफागानिस्तानका ३०, अस्ट्रेलियाका ४२, बाङ्लादेशका पाँच, बेलायतका २१, आयरल्यान्डका दुई, नेदरल्यान्डका एक, न्यूजिल्यान्डका २९, स्कटल्यान्डका सात, दक्षिण अफ्रिकाका ३८, श्रीलंकाका ३१, युएईका नौ, अमेरिकाका दुई, वेस्टइन्डिजका ५६ र जिम्बाम्बेका दुई खेलाडीले नाम दर्ता गराएका छन्।