संवैधानिक निकायको नियुक्तिविरुद्ध नागरिक अगुवाको मार्चपास
संवैधानिक निकायमा गरिएको नियुक्तिको विरोधमा नागरिक अगुवाहरुले आज बिहान काठमाडौंमा मार्चपास गरेका छन्।
बृहत् नागरिक आन्दोलनको अगुवाइमा पद्मरत्न तुलाधरको लैनचौरस्थित निवासबाट मार्चपास शुरु भएको हो। राष्ट्रपति कार्यालयसम्म मार्चपास तय भएपनि प्रहरीले रोकेको छ।
प्रहरीले आन्दोलनकारीलाई पानीपोखरीमै रोकेको छ। राष्ट्रपति कार्यालय जान नपाएपछि मार्चपासमा सहभागीले पानीपोखरीमै विरोध सभा गरेका छन्।
मार्चपासमा नागरिक समाजका अगुवाहरु खगेन्द्र संग्रौला, नारायण वाग्ले, कृष्ण खनाल, सञ्जीव उप्रेतीलगायत सहभागी छन्। संवैधानिक निकायमा गरिएको नियुक्ति अवैधानिक भएको उनीहरुको भनाइ छ।