एनसेलले रिङ रोडमा हरियाली विकास र संरक्षण कार्यक्रम गर्ने
एनसेल आजियाटाले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली विकास तथा संरक्षण कार्यक्रम गर्दैछ। झण्डै १०.२ किलोमिटर दुरी रहेको उक्त खण्डको यो योजनाबाट एनसेलले वातावरण संरक्षणमा योगदान पु-याउने उद्देश्य लिएको विज्ञप्तीमा छ।
उक्त ग्रीन बेल्ट क्षेत्रमा ल्यान्डस्केपिङसहित हरियाली निर्माण र संरक्षणको काम सुरु भइसकेको छ। एनसेलले एकान्तकुनादेखि बल्खु सडक खण्डका ग्रीन बेल्ट क्षेत्रमा नमुना कार्यक्रम सम्पन्न गरिसकेको छ। कोटेश्वरदेखि कलंकी सडक खण्डमा वृक्षारोणका लागि पनि सहयोग गरेको थियो। पाँच वर्षसम्म यो खण्डमा रहेका ६,००० भन्दा बढि रुख बिरुवाको हेरचाह गर्ने जनाएको छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङका अनुसार विभागसँगको यो सहकार्यले कसरी सार्वजनिक र निजी क्षेत्रको सहकार्यमा प्रभावकारी काम गर्न सकिन्छ भन्ने उजागर गरेको छ।
“रिङ रोडको १०.२ किलोमिटर सडक खण्डको क्षेत्रमा दायाँबायाँ हरियाली निमार्ण तथा संरक्षणको कार्य सार्वजनिक–निजी साझेदारीको एक उत्तम उदाहरण हो,” उनले भने।
विभागका महानिर्देशक मन बहादुर खड्काले वृक्षारोपण गर्दै हरियाली बढाउने सरकारको अभियानअन्तर्गत् रिङ रोड ग्रीन बेल्ट योजना कार्यान्वयनका एनसेलसँग सहकार्य गर्न पाएकोमा खुसी लागेको बताए। “रुख रोप्न सजिलो छ तर यसको हेरचाह गरी हुर्काउने र हरियाली कायम गर्दै फाइदा लिन धेरै गाह्रो हुन्छ र यो काम एनसेलले गर्दैछ,” उनले भने।
एनसेलले यसअघि धनुषाधाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५०,००० बोटबिरुवा वृक्षारोपण गरेको थियो। सरकारले धनुषाधाम संरक्षित वनलाई ‘खुल्ला चरिचरन तथा अनियमित कटान मुक्त क्षेत्र’ घोषणा गरिसकेको छ।