निर्वाचन तयारीबारे आयोगद्वारा दलहरूसँग छलफल
निर्वाचन आयोगले सरकारले १७ र २७ वैशाख २०७८ का लागि तोकेको प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा राजनीतिक दलका नेताहरूसँग छलफल गरेको छ। आइतबार निर्वाचन आयोगले संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग घोषित मितिमा निर्वाचन सम्पन्न गराउन आयोगले गरिरहेको आन्तरिक तयारीको सम्बन्धमा छलफल गरेको हो।
छलफलमा आयोगले सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रम, मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको बारेमा नेताहरूलाई जानकारी गराई राय, परामर्श लिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।
छलफलका क्रममा आयोगले निर्वाचन कार्यक्रममा सहभागी हुन राजनीतिक दलको तर्फबाट आम नागरिकलाई सुसूचित गराइदिन पनि आग्रह गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षका नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोगले भनेजस्तो निर्वाचन तयारीमा आफूहरू नलाग्ने बताए।
सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा तत्काल निर्वाचनको कार्यक्रम अघि नबढाउन आफूहरूले निर्वाचन आयोगमा आग्रह पनि गरेको उल्लेख गर्दै उनले वैशाखमा निर्वाचन आयोगले निर्वाचन गर्न नसक्ने बताए।
नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले भने निर्वाचन आयोगको निर्वाचन कार्यक्रमको तयारीको पक्षमा आफूहरू रहेको बताए। निर्वाचन आयोगले कुनैपनि समय चुनाव गराउन तयार रहनुपर्ने भन्दै उनले सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरे त्यसलाई स्वीकार गर्ने तथा निर्वाचन भए निर्वाचनमा जानको लागि कांग्रेस तयार रहेको उनको भनाइ छ।
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम १५ देखि २१ माघसम्म सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।