राष्ट्र ब्यांकको तथ्यांक : वैदेशिक लगानी एक तिहाइले घट्यो, मूल्य वृद्धि २.९३ प्रतिशतमा सीमित
यो वर्ष वैदेशिक लगानी करीब एक तिहाइले घटेको छ। चालु आर्थिक वर्षको पहिलो पाँच महीना (मंसीरसम्ममा) कुल वैदेशिक लगानी अघिल्लो वर्षको यही अवधिका तुलनामा ३१.५ प्रतिशतले घटेर रू. ४ अर्ब ५० करोड कायम भएको छ। जुन अघिल्लो वर्षको यही अवधिमा रू. ६ अर्ब ५७ करोड थियो।
यो अवधिमा विदेशबाट हुने पूँजीगत ट्रान्सफर पनि १६ प्रतिशतले घटेर रू. ४ अर्ब ७५ करोड कायम भएको छ। कोरोना भाइरस संक्रमणका कारण विश्वभरिका लगानीकर्ता प्रभावित भएका कारण वैदेशिक लगानी घटेको अनुमान गरिएको छ। वैदेशिक लगानीले देशभित्र उद्योग धन्दाको विकास, रोजगारी सिर्जना तथा अर्थतन्त्रको उत्पादक क्षमताको विस्तार गर्न सघाउँछ।
वैदेशिक लगानी घटेपनि विदेशमा श्रम गर्न गएका नेपालीले पठाएको रकम, रेमिटेन्सको वृद्धि भने निरन्तर छ। यो वर्ष मंसीरसम्ममा रू. ४ खर्ब १६ अर्ब ७१ करोड रेमिटेन्स भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १०.९ प्रतिशत धेरै हो। अघिल्लो वर्षको यही अवधिमा रेमिटेन्स ०.२ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा रेमिटेन्स ६.४ प्रतिशतले बढेको छ।
रेमिटेन्स बढेसँगै देशको वैदेशिक मुद्राको सञ्चिती १२ अर्ब ५४ करोड डलर पुगेको छ। नेपाली रूपैयाँमा देशसँग रू. १४ खर्ब ७४ अर्ब बराबरको विदेशी मुद्राको सञ्चिती पुगेको छ।
चालु आर्थिक वर्षको पाँच महीनामा नेपालले रू. ५० अर्ब ६ करोडको वस्तु निर्यात गरेको छ, यो अघिल्लो वर्षको यही अवधिका तुलनामा ५.१ प्रतिशत धेरै हो। यो अवधिमा विदेशबाट रू. ५ खर्ब २५ अर्ब ५० करोडको वस्तु आयात भएको छ, यो अघिल्लो वर्षको यही अवधिका तुलनामा ९.६ प्रतिशत थोरै हो।
यस अवधिमा नेपालको शोधनान्तर स्थिति (देश भित्रिने र बाहिरिने रकम बीचको अन्तर) रू. १ खर्ब ६ अर्ब छ। यद्यपि, देशको चालु खाता भने रू. २१ अर्ब ३२ करोड घाटामा छ। अघिल्लो महीना कात्तिकमा भने चालु खाता नाफामा थियो।
बजारमा उपभोग्य वस्तुको मूल्य अचाक्ली बढिरहेको भनी उपभोक्ताले गुनासो गर्दै आएपनि राष्ट्र ब्यांकले मंसीरमा मूल्यवृद्धि २.९३ प्रतिशतमा सीमित रहेको बताएको छ। यो अघिल्लो वर्षको यही अवधिमा ६.५५ प्रतिशत थियो।
मंसीरमा सबैभन्दा धेरै फलफूलको मूल्य करीब १५ प्रतिशत र घ्युतेलको मूल्य १३ प्रतिशतले उकालो चढेको छ। यद्यपि, मसलाको मूल्य करीब ४ प्रतिशतले घटेको छ।
राष्ट्र ब्यांकले एक वर्षको अवधिमा ज्याला तथा तलब १ प्रतिशतले मात्रै बढेको आफ्नो तथ्यांकमा उल्लेख गरेको छ।