स्वास्थ्यमन्त्री त्रिपाठीले भने- ‘कोरोनाको खोप खरीद पारदर्शी र वितरण न्यायपूर्ण हुन्छ’
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपको खरीद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरीद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका हुन्। खरीद र वितरणका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको मन्त्री त्रिपाठीले बताए।
खोप आयात भएको ७ दिन भित्रमा वितरण शुरू भइसक्ने उनको दाबी छ। खोप कार्यक्रमका लागि अहिले सञ्चालनमा रहेका करीब १६ हजार खोप केन्द्रहरूलाई परिचालन गरिने मन्त्री त्रिपाठीले जानकारी गराए।
५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविकाहरू यस कार्यक्रम परिचालन हुनेछन्। “खोप आउँछ। निश्चित रूपले हामी समयमै लगाउँछौं र यो अभियानका रूपमा जान्छ। न्यायपूर्ण ढंगले यसको वितरण हुन्छ। त्यसका अरु तयारीहरू भइसकेको अवस्था छ”, मन्त्री त्रिपाठीले भने, “भण्डारण हामीसँग पुग्दो छ। ढुुवानीको लागि पनि सुनिश्चित अवस्थामा पु¥याइसकेका छौं।”
खोपको प्राप्ती अन्य व्यावसायिक वस्तुको प्राप्ती जस्तो नभई राजनीतिक वस्तुको रूपमा देखा परेकाले आपूर्तिमा समस्या भएको उनको भनाइ छ। तरपनि सरकारले खोप आयातका लागि राजनीतिक पहल गरिरहेको मन्त्री त्रिपाठीले बताए।
खोपको वितरण सबैभन्दा पहिला मुख्य जोखिममा रहेका स्वास्थ्यकर्मी लगायत अग्रपंतिमा रहेका व्यक्तिहरूलाई, ५५ वर्ष उमेर माथिका र दीर्घ रोगका बिरामीहरूका लागि उपलब्ध गराउने सरकारको तयारी छ।
नेपालमा छिमेकी राष्ट्रमा भन्दा धेरै पछाडि खोप लगाउनुपर्ने अवस्था नआउने पनि मन्त्री त्रिपाठीले दाबी गरे। खोपको खरीद प्रक्रियामा जे जति आशंकाहरू देखिएका छन् त्यसलाई झुटो सावित गर्ने पनि मन्त्री त्रिपाठीले बताए।
आफूले रुस, भारत र युएईका राजदूतहरूसँग खोप ल्याउने सम्बन्धमा कुरा गरिसकेको र खोप उत्पादन गर्ने अन्य मुलुकहरूसँग पनि राजनीतिक पहल भइरहेको मन्त्री त्रिपाठीले दाबी गरे।