सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराद्वारा राजीनामा
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बुधबार मन्त्रीबाट राजीनामा दिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहम बाँडिएपछि उनी केही दिन कुनैपनि पक्षमा खुलेका थिएनन्। तर, अब भने प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लाग्ने निश्चित गर्दै पदबाट राजीनामा दिएको पत्रकार सम्मेलनमार्फत् जानकारी दिए।
उनले राजीनामा दिएको जानकारी गराउँदै सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा अन्तर्गत पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षको वर्चश्व रहेको बताए। मन्त्री बोहरा प्रदेश सभा निवार्चनमा अछाम क्षेत्र नम्बर १ को ख बाट विजयी भएका हुन्।
उनले मन्त्री पदबाट राजीनामा दिएपनि प्रदेश र मुलुकको आर्थिक समृद्धि, विपन्न वर्गको उत्थान, दलित, महिला, यूवा, द्वन्द्वपीडित, शहीद परिवार लगायतको विकासका साथै समाजमा व्याप्त छूवाछूत, छाउपडी प्रथा लगायतका कुसंस्कार निर्मुल पार्न सँधै तयार रहेको प्रतिवद्धता जनाए।
यसअघि ओली पक्षमा लागेका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले नै पदमुक्त गरेका थिए।
प्रदेश सरकारमा २ जना बाहेक सबै मन्त्री अहिलेसम्म दाहाल-नेपाल पक्षमा खुलेका छन्।