लगातार तीन वर्ष नेपालको अर्थतन्त्रको विस्तार न्यून हुने विश्व ब्यांकको प्रक्षेपण
विश्व ब्यांकले यो वर्ष नेपालको अर्थतन्त्रको विस्तार अत्यन्तै सुस्त हुने अनुमान गरेको छ। चालु आर्थिक वर्ष २०७७/७८ मा नेपालको कुल गार्हस्थ उत्पादन ०.६ प्रतिशतमा सीमित हुने ब्यांकले प्रक्षेपण गरेको हो ।
सरकारले यो वर्ष उच्च आर्थिक वृद्धिको अपेक्षा गरेपनि विश्व ब्यांकले भने कोरोना भाइरसले सिर्जना गरेको परिस्थितिका कारण अर्थतन्त्रको विस्तार सुस्त मात्रै हुने बताएको हो ।
ब्यांकका अनुसार, गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको विस्तार ठप्पप्रायः रह्यो। कोरोना भाइरसका कारण आर्थिक क्रियाकलाप सुस्त भएपछि आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशतमा सीमित रहेको ब्यांकले अनुमान गरेको छ।
अर्थतन्त्रको विस्तार ठप्प वा सुस्त हुनुले मानिसको औसत प्रतिव्यक्ति आय नबढेको वा झन् खुम्चिएको संकेत गर्छ । आगामी आर्थिक वर्ष २०७८/७९ मा पनि नेपालको अर्थतन्त्रको वृद्धिदर २.५ प्रतिशत मात्रै हुने प्रक्षेपण गरिएको छ ।
ब्यांकको प्रक्षेपण सही ठहरिएमा दशकौंपछि नेपालमा लगातार तीन आर्थिक वर्षमा आर्थिक वृद्धिदर न्यून हुनेछ । यसले अर्थतन्त्रको उत्पादक क्षमतामा विस्तार नहुने, नयाँ र थप रोजगारी सिर्जना नहुने वा मानिसको आयआर्जन शिथिल रहने संकेत गर्छ ।
आर्थिक वर्ष २०७३/७४ पछिका तीन आर्थिक वर्षमा नेपालले लगातार औसतमा वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको थियो ।
विश्व ब्यांकका अनुसार, यो वर्ष दक्षिण एशियामा सबैभन्दा धेरै भारतको अर्थतन्त्र ९.६ प्रतिशतले खुम्चिदैँछ । भुटानको अर्थतन्त्र ०.७ प्रतिशतले खुम्चने अनुमान गरिएको छ । तर, माल्दिभ्सको अर्थतन्त्र ९.५ प्रतिशतले बढ्ने अनुमान छ ।
विश्व ब्यांकले ग्लोबल इकोनोमिक प्रोस्पेक्ट प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२१ मा विश्व अर्थतन्त्र ४ प्रतिशतले बढ्ने आकलन गरेको छ।
कोरोना भाइरसविरुद्धको खोप व्यापक रुपमा अपनाइने र यसले आर्थिक क्रियाकलाप चलायमान बनाउने अपेक्षाअनुसार विश्व अर्थतन्त्रमा सुधारको अनुमान गरिएको हो । सन् २०२० मा विश्व अर्थतन्त्र ४.३ प्रतिशतले खुम्चिएको थियो ।
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका सन् २०२१ मा ३.५ प्रतिशतले विस्तारित हुनेछ । सन् २०२० मा अमेरिकाको अर्थतन्त्र ३.६ प्रतिशतले संकुचित भएको थियो। त्यस्तै, सन् २०२१ मा चीनको अर्थतन्त्र ७.९ प्रतिशतले विस्तारित हुने अनुमान गरिएको छ। सन् २०२० मा विश्व अर्थतन्त्र नकारात्मक हुँदा पनि चीनको अर्थतन्त्र २ प्रतिशतले बढेको थियो ।