भारतीय परिचय पेश गरेर ‘नेपाली डाक्टर’ बनेका १२ जनालाई काउन्सिलले सोध्यो स्पष्टीकरण
भारतीय परिचय पेस गरेर चिकित्सा शास्त्रको अध्ययन पूरा गरेका तर नेपाली परिचयमा बिरामी जाँच्ने लाइसेन्स लिएका १२ चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले स्पष्टीकरण सोधेको छ।
मेडिकल काउन्सिलले १२ जना चिकित्सकलाई शैक्षिक प्रमाणपत्र, नागरिकता र काउन्सिलबाट पाएको प्रमाणपत्रको सक्कल प्रमाण पेस गर्न १० पुसमा सूचना जारी गरेको भेटिएको छ। उनीहरुलाई काउन्सिलले सूचना प्रकाशित भएको ३० दिनभित्र प्रमाणपत्रसहित पेस गर्न भनेको छ।
काउन्सिलका अनुसार यीमध्ये अधिकांशले काउन्सिलमा उपस्थित भएर स्पष्टीकरणको पत्र बुझेका छन्। तर, १४ पुससम्म कसैले पनि सबै प्रमाणपत्र पेस गरिसकेका छैनन्।
खोज पत्रकारिता केन्द्रका लागि तीन वर्षअघि हिमाल खबरपत्रिका (१२–१८ भदौ, २०७३) ले भारतीय परिचपय पेस गरेका आधारमा चिकित्सा शास्त्र उत्तिर्ण गरेका १२ जनाले काउन्सिलबाट नेपाली नागरिकता पेस गरेर लाइसेन्स लिएको खुलासा गरेको थियो। वीरगञ्जस्थित एमबी केडिया डेन्टल कलेजको २०६३/६४ को पहिलो ब्याच र २०६४/६५ को दोस्रो ब्याचका १९ जनाले भारतीय परिचयका आधारमा उक्त कलेजमा भर्ना पाएका थिए ।
भारतीय परिचय पेश गरेर भर्ना हुनेमा अजयकुमार आस्थना, प्रेक्षा शाह, राजेन्द्र भट्ट, रोशनकुमार शाह, कविता सिंह, प्रतिमाकुमारी यादव, प्रेरणा सिंह, विनिता सिंह, दिपककुमार शर्मा, धनन्जय माली, पुष्कर तिवारी, राजकृष्ण श्रेष्ठ, रजनिश खड्का, सरिता पाण्डे, शशीकान्त चौधरी, सीताराम सिंह कुशवाह, गजेन्द्र कुशवाह, रञ्जुकुमार शाह र प्रशान्त कुमार छन्।
काउन्सिलले यिनीहरुमध्ये १२ जना अजयकुमार आस्थना,प्रेक्षा शाह, रोशनकुमार शाह, कविता सिंह, प्रतिमा कुमारी यादव, विनिता सिंह, दिपक कुमार शर्मा, धनन्जय माली, पुष्कर तिवारी, रजनिश खड्का, शशीकान्त चौधरी र शिताराम सिंह कुशहवालाई मात्र स्पष्टीकरण सोधेको छ।
काउन्सिलले उनीहरुलाई २०७६ सालमै स्पष्टीकरण सोधे पनि अटेर गर्दै त्यसबारे जवाफ नदिएको नेपाल मेडिकल काउन्सिलका रजिष्टार डा. कृष्ण अधिकारीले हिमालखबरलाई बताए। “उनीहरुले दिने जवाफ र पेस गर्ने कागजातका आधारमा काउन्सिले आवश्यक कारवाही गर्छ,” डा. अधिकारीले भने, “चित्तबुझ्दो जवाफ नदिए उनीहरुको लाइसेन्स नै खारेज हुनसक्छ ।” अहिलेसम्म १२ जना चिकित्सकहरुले गरेको काम कारबाही ‘गैर कानुनी’ देखिएको उनले बताए।
एमबी केडियाले १९ जना नेपाली विद्यार्थीलाई भारतीय बनाएर भर्ना गरेको भन्दै ८ वैशाख २०७३ मा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीनको कार्यालयले मेडिकल काउन्सिललाई लेखेको पत्रमा उल्लेख थियो। तर, पत्र लेखेको तीन वर्षसम्म पनि काउन्सिलले उनीहरुमाथि छानबिन अघि बढाएन।
यो विषयमा छानबिन गर्न आइओएम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ । तर, ती निकायले अहिलेसम्म छानबिन गरेर कारबाही अघि बढाएका छैनन्।
दन्त रोग विषयमा उनीहरुले आफ्नो पढाइ उत्तीर्ण गरेपछि भारतीय परिचय पेस गरेर भर्ना पाएका नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स लिने बेलामा नेपाली परिचय पेस गरेका थिए । काउन्सिलका तत्कालीन रजिष्टारले पनि उनीहरुले पेस गरेको नेपाली परिचयको आधारमा १९ जनालाई नै बिरामी जाँच्ने लाइसेन्स दिए।
एमबी केडिया डेन्टल कलेजमा भर्ना हुने समयमा भारतीयसहित विदेशी विद्यार्थीहरुले नेपालमा चिकित्सा शास्त्र अध्ययन गर्न प्रवेश परिक्षा पास गरेको हुनुपर्ने प्रावधान थिएन । तर, नेपाली विद्यार्थीहरुले अनिवार्य प्रवेश परीक्षा पास गरेर मात्र चिकित्सा शास्त्र अध्ययन गर्न पाउने व्यवस्था थियो। अहिले पनि यो व्यवस्था छ।
मेडिकल काउन्सिलका एक सदस्यका अनुसार उनीहरुले प्रवेश परीक्षा छल्न नेपाली भएर पनि भारतीय प्रमाण पत्र पेश गरेर भर्ना भएका थिए। अहिले नेपालमा चिकित्सा शास्त्र अध्ययन गर्न नेपालीसहित विदेशी विद्यार्थीलाई पनि प्रवेश परीक्षा अनिवार्य गरिएको छ।
नेपालमा चिकित्सक बनेर बिरामी जाँच्न मेडिकल कलेजबाट अध्ययन पुरा गरेर मात्र पुग्दैन। सम्बन्धित कलेजबाट अध्ययन पूरा गरेपछि नेपाल मेडिकल काउन्सिलले लिने दर्ता प्रमाणपत्र परीक्षा पास गरेर लाइसेन्स लिनुपर्छ। बल्ल बिरामी जाँच्न पाउने कानुनी व्यवस्था छ।