सरकारको बेवास्तापछि आन्दोलनमा उत्रिए स्वास्थ्यकर्मी
कोभिड-१९ महामारीमा अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीको समस्या समाधानमा सरकारले गम्भीरता नदेखाएको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्।
कोभिड–१९ संक्रमण भएका व्यक्तिको उपचारमा प्रत्यक्ष खट्ने स्वास्थ्यकर्मीका समस्या समाधान गर्न सरकारलाई पटक–पटक आग्रह गर्दा समेत सुनुवाइ नभएको भन्दै स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न ट्रेड युनियन तथा पेशागत संघ/संगठनहरू संयुक्त रूपमा आन्दोलनमा उत्रिएका छन्। स्वास्थ्यकर्मीहरूले आइतबार माइतीघर मण्डलमा प्रदर्शन गरी समस्या समाधान गर्न माग गरेका छन्।
अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामग्री र सुरक्षित वातावरणको सुनिश्चितता नभएको, जोखिम तथा प्रोत्साहन भत्ता अहिलेसम्म उपलब्ध हुन नसकेको, राज्यले घोषणा गरेका प्रतिवद्धता कार्यान्वयन नभएको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका हुन्। नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिका संयोजक डा. लोचन कार्कीले जनताको स्वास्थ्य तथा जीवनसँग सरोकार राख्ने विषय उठाउँदा पनि बेवास्ता गरिएको बताए।
विश्वभर कोभिड–१९ को नयाँनयाँ रूप देखिँदै गएको अवस्थामा पनि सरकारले स्वास्थ्यकर्मीको सुरक्षामा कुनै चासो नदेअखाएको डा. कार्कीले बताए।
स्वास्थ्यकर्मीहरूले आईसीयू, भेन्टीलेटर लगायतका उपकरणहरूको संख्या बढाउनुपर्ने, ट्रेसिङ, परीक्षण, आइसोलेसन, उपचारको दायरा बढाउनुपर्ने, स्वास्थ्यकर्मीलाई उपलब्ध गराइने भनिएको जोखिम भत्ता उपलब्ध गराउनुपर्ने, सञ्चार तथा यातायात खर्च सहज तरीकाले उपलब्ध गराउनुपर्ने, निश्चित मापदण्डका आधारमा स्वास्थ्यकर्मीहरूलाई क्वारेन्टिन,आइसाेलेसन तथा बिदाको व्यवस्थापन हुनुपर्ने, संक्रमित स्वास्थ्यकर्मीहरूका लागि छुट्टै डेडिकेटेड अस्पताल हुनुपर्ने लगायतका माग राखेका छन्।
आफूहरूको माग सम्बोधन नभए संघर्षका कडा कार्यक्रम ल्याउने संघर्ष समितिका संयोजक डा. कार्कीले बताए।