प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएको छ।
राईविरुद्धको अविश्वास प्रस्तावको प्रस्तावकमा इन्द्र आङ्बो छन् भने समर्थकमा लक्ष्मण तिवारी छन्। आर्थिक मामिला मन्त्री रहेका आङ्बोलाई शनिबार मात्र मुख्यमन्त्री राईले बर्खास्त गरेका थिए।
उनीहरुले नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश कमिटी इन्चार्ज भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरेका छन्। अविश्वासको प्रस्तावमा करीब ३६ सांसदले हस्ताक्षर गरेका छन्। अरु केही सांसद जिल्लामा रहेकाले हस्ताक्षर गर्न छुटेको बताइएको छ।
नेकपाका ६७ सांसदमध्ये ४० जना दाहाल–नेपाल समूहमा खुलेका छन् भने २२ जना ओली समूहमा छन्। चार जना अझै खुलिसकेका छैनन्। अविश्वासको प्रस्ताव पारित हुन दाहाल नेपाल समूहलाई कांग्रेस सांसदको साथ चाहिन्छ।
आज बिहान प्रदेका एक मन्त्री र दुई राज्य मन्त्रीले राजीनामा दिएका थिए। सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका हुन्। उनीहरु बिहानको मन्त्रिपरिषद् बैठकमा सहभागी थिएनन्। उक्त बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन ७ माघमा बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ।