सीजेएमसी कलेजकी संस्थापक अध्यक्ष मिश्रलाई ‘स्पेसल कन्ट्रिब्यूसन अवार्ड’
विश्वका विभिन्न विश्वविद्यालयका संस्थापक महिलाहरूको संस्था ‘वर्ल्ड वुमन युनिभर्सिटी प्रेसिडेन्ट फोरम’ ले प्रदान गर्दै आएको ‘स्पेसल कन्ट्रिब्यूसन अवार्ड’ नेपालकी मञ्जु मिश्रले पाएकी छिन्।
पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कलेज अफ जर्नालिज्म एण्ड मासकम्युनिकेसन (सीजेएमसी) कलेजकी संस्थापक अध्यक्ष मिश्रलाई कलेज स्थापना गरी प्राज्ञिक क्षेत्रमा योगदान पुर्याएको भन्दै उक्त अवार्ड दिइएको हो।
‘वर्ल्ड वुमन युनिभर्सिटी प्रेसिडेन्ट फोरम’ अमेरिका, चीनलगायत दर्जनौं देशका विभिन्न विश्वविद्यालयमा भएका कुलपति तथा उपकुलपति, संस्थापक महिलाहरूको साझा संस्था भएको मिश्रले बताइन्।
गत नोभेम्बरमा भर्चुअल कार्यक्रममार्फत घोषणा गरिएको यो अवार्ड उनलाई फोरमले हालै मात्र पठाएको र आफूसहित विश्वका विभिन्न विश्वविद्यालयका ९ महिलाले यो अवार्ड पाएको उनले जानकारी दिइन्।
पूर्वाञ्चल विश्वविद्यालयसँग स्वीकृति लिएर सन् २००१ मा मिश्रले स्थापना गरेको सीजेएमसी कलेजले स्नातक र स्नातकोत्तर तहमा आमसंचार र पत्रकारितासँग सम्बन्धित विषयको अध्ययन अध्यापन गर्दै आएको छ।
त्यसका साथै विभिन्न देशका केही विश्वविद्यालयमा विद्यार्थी पढ्न पठाउने गरी सम्झौता पनि गरिएको मिश्रको भनाइ छ।