कोभिड-१९ प्रभावित व्यवसायलाई यसै सातादेखि व्यवसाय निरन्तरता कर्जा वितरण हुने
सरकारले यसै सातादेखि कोभिड–१९ प्रभावित व्यवसायलाई व्यवसायिक निरन्तरता कर्जा दिन शुरू गर्ने भएको छ। अर्थ मन्त्रालयमा बुधबार बसेको व्यवसाय निरन्तरता कर्जा प्रवाह सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
सरकारले कोरोना भाइरसका कारण सिर्जित परिस्थितिले मर्कामा परेका व्यवसाय सञ्चालनका लागि रू. ५० अर्बको कोषमार्फत् सहुलियत ऋण प्रवाह गर्ने घोषणा गरेको थियो। यसैअनुसार, यो सातादेखि यस्तो कर्जा दिन शुरू गरिन लागेको हो।
अर्थ मन्त्रालयले जारी गरेको व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ मा कोभिड-१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम तथा पर्यटन व्यवसायमा कार्यरत श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी र व्यवसायको निरन्तरता दिन सरकारले प्रवाह गर्ने कर्जाका लागि ५० अर्ब रूपैयाँको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह शोधभर्ना खाता खोल्ने उल्लेख छ।
व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा १५ अर्ब ५० करोड रूपैयाँ जम्मा हुने निश्चित भएको छ।
अर्थ मन्त्रालयका अनुसार नेपाल आयल निगमबाट ५ अर्ब, नेपाल राष्ट्र ब्यांकबाट ३ अर्ब, नागरिक लगानी कोषबाट २ अर्ब, निक्षेप तथा कर्जा सुरक्षण कोषबाट २ अर्ब रूपैयाँ यकिन भएको छ।
यस्तै, नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबाट १ अर्ब, कर्मचारी सञ्चय कोषबाट १ अर्ब, नेपाल सरकारबाट १ अर्ब र राष्ट्रिय बीमा संस्थानबाट ५० करोड रूपैयाँ निश्चित भएको छ।
अर्थ मन्त्रालयका सचिव एवं व्यवसाय निरन्तरता कर्जा प्रवाह सञ्चालक समितिका अध्यक्ष शिशिरकुमार ढुङ्गानाका अनुसार शोधभर्ना खातामा ३० अर्ब रूपैयाँको प्रतिबद्धता प्राप्त भएको छ। उनले निश्चत भएको रकम आवश्यकता अनुसार खातामा जम्मा हुने र कर्जा प्रवाह हुने बताए।