राजनीतिक स्थिरताका पक्षमा निजी क्षेत्रका प्रमुख तीन संस्थाको एक स्वर
मुलुकको राजनीतिक अनिश्चयप्रति गम्भीर चासो राख्दै निजी क्षेत्रका प्रमुख तीन संगठनले सुझबुझ र संयमतापूर्वक निर्णय लिन राजनीतिक दलहरूको ध्यानाकर्षण गरेका छन्।
निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले अपील जारी गरेर व्यावसायिक क्षेत्र राजनीतिक स्थिरताको पक्षमा रहेको उल्लेख गरेका हुन्।
“पछिल्लो समय उब्जिएको राजनीतिक समस्याबाट उत्पन्न हुन सक्ने अस्थिरताको परिणाम थप गम्भीर हुनेतर्फ निजी क्षेत्र चिन्तित छ,” विज्ञप्तिमा भनिएको छ।
राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नयाँ लगानी आकर्षण हुने, व्यवसाय फस्टाउने, रोजगारी सृजना हुने र समग्रमा अर्थतन्त्रले गति लिन सक्ने यथार्थतालाई राजनीतिक दलहरूले बिर्सन नमिल्ने विज्ञप्तिमा उल्लेख छ।
निजी क्षेत्रका संस्थाले पछिल्लो समयमा सिर्जित घटनाक्रमले अन्याेलता सृजना गर्ने र यसले बन्दाबन्दीपश्चात् चलायमान हुन थालेको अर्थतन्त्र र सर्वसाधारणको जीविकोपार्जनमा समेत गम्भीर असर पर्नेमा चिन्ता जनाएका छन्।