कृषि क्षेत्रका लागि विश्व ब्यांकको रू. ९ अर्ब ३० करोड ऋण
बहुपक्षीय ऋणदाता विश्व ब्यांकले नेपालको कृषि क्षेत्रको विकास लागि ८ करोड डलर (करीब रू. ९ अर्ब ३० करोड) ऋण सहयोग उपलब्ध गराउने भएको छ।
नेपालको ग्रामीण कृषि उत्पादनलाई बजारको पहुँच उपलब्ध गराउन तथा कृषि सम्बन्धित उद्यमशीलता विकास गर्न यो ऋण रकम खर्च हुने ब्यांकले जनाएको छ। कोरोना भाइरसको महामारीपश्चातको आर्थिक पुनरूत्थान र रोजगारी सिर्जनामा पनि यसले सहयोग गर्ने बताइएको छ।
ऋण सहयोगसम्बन्धी सम्झौतामा सोमबार अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व ब्यांकको नेपालका लागि कन्ट्री म्यानेजर फ्यारिस हदाद जर्भोसले हस्ताक्षर गरे।
कर्णाली प्रदेशबाहेकका ६ प्रदेशअन्तर्गतका पाँच आर्थिक करिडोरलाई केन्द्रमा राखेर यो परियोजना कार्यान्वयन हुनेछ।