तरकारीमा अचाक्ली मूल्यवृद्धि, माछामासुको मूल्य घट्यो
गत असोजमा जस्तै कात्तिकमा पनि तरकारी तथा गेडागुडीको मूल्य अचाक्ली बढेको तथ्यांक नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको छ । राष्ट्र ब्यांकको नेपालको वर्तमान आर्थिक स्थितिसम्बन्धी प्रतिवेदनका अनुसार, कात्तिकमा तरकारीको मूल्य अघिल्लो वर्षको सोही समयकाे तुलनामा करीब २१ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडीको मूल्य करिब १४ प्रतिशतले बढेको छ । असोजमा तरकारी र दाल तथा गेडागुडीको मूल्य करीब क्रमशः २३ र १४ प्रतिशतले बढेको थियो ।
राष्ट्र ब्यांकका अनुसार, कात्तिकमा घ्यु तेलको मूल्य पनि करीब ११ प्रतिशतले बढेको छ । फलफूलको मूल्य करीब ६ प्रतिशत र चिनी र गुलिया वस्तुको मूल्य ७ प्रतिशतले उकालो चढेको छ । खाद्य वस्तुको मूल्य बढ्दाको सबैभन्दा धेरै असर न्यून आम्दानी भएका विपन्न परिवारलाई पर्छ । कोरोना महामारी शुरु हुनुअगाडि नै नेपालका करीब १७ प्रतिशत नागरिक विपन्न भएको अनुमान थियो । महामारी रोक्न लगाइएको बन्दाबन्दीका कारण थप नागरिक गरिबीको रेखामुनी पुगेको आकलन छ ।
यी वस्तुको मूल्य अचाक्ली बढेपनि समग्रमा खाद्य र पेय पदार्थको मूल्यवृद्धि कात्तिक महीनामा ५.७३ प्रतिशत छ । मसला, खाद्यान्न, दूध र अण्डाजस्ता वस्तुको मूल्यमा नगन्य मात्रै वृद्धि भएको छ । माछामासुको मूल्य त अघिल्लो वर्षको तुलनामा ०.४७ प्रतिशतले घटेको नै छ ।
प्रतिवेदनका अनुसार, कात्तिकमा गैर खाद्य वस्तु समूहको मूल्यवृद्धि भने न्यून अर्थात २.७५ प्रतिशत मात्रै छ । गैर खाद्य समूहमा पर्ने लत्ताकपडा र जुत्ताको मूल्य अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले मात्रै बढेको छ । घरभाडा जम्मा १.९२ प्रतिशतले मात्रै बढेको छ भने फर्निचरको मूल्य ३.२ प्रतिशतले बढेको छ । तर, यातायातको मूल्य ६ प्रतिशत र सञ्चारको मूल्य ४ प्रतिशतले बढेको छ ।
राष्ट्र ब्यांकका अनुसार, कात्तिकमा समग्र मूल्यवृद्धि ४.०५ प्रतिशत मात्रै छ । अघिल्लो आर्थिक वर्षको यसै महीनामा मूल्यवृद्धि ५.७६ प्रतिशत थियो । मूल्यवृद्धिका तुलनामा तलब तथा ज्यालादर भने न्यून मात्रै बढेको छ । कात्तिकमा तलब तथा ज्यालादर ०.८५ प्रतिशतले मात्रै बढेको छ । जबकि, अघिल्लो वर्षको यसै महीनामा तलब तथा ज्यालादर १०.४६ प्रतिशतले बढेको थियो ।
कात्तिकमा सबैभन्दा धेरै ४.६९ प्रतिशतले तराईमा मूल्यवृद्धि भएको छ ।