वैदेशिक रोजगारमा जाने नेपाली तीन चौथाईले घटे, रेमिटेन्समा भने निरन्तर वृद्धि
कोरोना भाइरसको महामारी शुरू भएयता वैदेशिक रोजगारीमा जाने नेपालको संख्या न्यून रहेपनि रेमिटेन्सको आप्रवाह भने पछिल्ला महीनाहरूमा लगातार बढिरहेको छ । नेपाल राष्ट्र ब्यांकले सोमबार सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक स्थितिसम्बन्धी प्रतिवेदनका अनुसार, चालु आर्थिक वर्षको कात्तिकमसान्तसम्ममा देशमा रु. ३ खर्ब ३७ अर्ब ७२ करोड रेमिटेन्स भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्षको यही अवधिका तुलनामा ११.२ प्रतिशत धेरै हो । अमेरिकी डलरमा पनि रेमिटेन्सको आप्रवाह ६.४ प्रतिशतले बढेको छ ।
साउन–कात्तिकको अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १९ हजार २५१ मात्रै छ । यो अघिल्लो आर्थिक वर्षको यही अवधिका तुलनामा तीन चौथाईले थोरै हो । महामारी शुरु भएयता वैदेशिक रोजगारीमा रहेका नेपालीले वैधानिक ब्यांकिङ माध्यमको प्रयोगमार्फत रकम पठाउन बढाएका कारण रेमिटेन्सको आप्रवाह बढेको अनुमान गरिएको छ ।
रेमिटेन्स बढेसँगै देशको विदेशी मुद्राको सञ्चिती उच्च स्तरमा पुगेको छ । कात्तिक मसान्तसम्ममा देशको कुल विदेशी मुद्राको सञ्चिती रु. १५ खर्ब ६ अर्ब नाघेको छ । यो गत असार महीनाका तुलनामा ७.४ प्रतिशतले धेरै हो । अमेरिकी डलरमा यस्तो सञ्चिती १२ अर्ब ६५ करोड डलर पुगेको छ । विदेशी मुद्राको सञ्चिती बढ्नु अर्थतन्त्रको सबलताका हिसाबले लाभदायक मानिन्छ । यो सञ्चिती रकमले देशलाई आवश्यक वस्तु र सेवाको आयात १४ महीनासम्म धान्न सक्छ ।
आयात घटेका कारण देशको शोधनान्तर स्थिति (देश भित्रिने र बाहिरिने रकम बीचको अन्तर) रु. १ खर्ब १० अर्ब ६५ करोड वचतमा पुगेको छ । आयात अचाक्ली भएका बेला देशको शोधनान्तर स्थिति नकारात्मक हुने गरेको थियो । देशबाट विदेशिने रकमभन्दा परदेशबाट देश भित्रिने रकम धेरै हुनु राम्रो मानिन्छ । त्यस्तै, कात्तिकसम्ममा देशको चालु खाता समेत रु. २० अर्ब २६ करोड वचतमा छ । यी सूचकहरु अर्थतन्त्रका लागि सकारात्मक मानिन्छन् ।
रेमिटेन्सको वृद्धि सकारात्मक भएपनि देशको विदेशी मुद्रा आम्दानीको अर्को स्रोत र अर्थतन्त्रलाई गति दिने मानिएको वैदेशिक लगानी भने घटेको छ । कात्तिकसम्ममा रु. ३ अर्ब ७५ करोड मात्रै वैदेशिक लगानी भित्रिएको छ, यो अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा करीब एक चौथाई थोरै हो ।
राष्ट्र ब्यांकको तथ्यांकका अनुसार, साउन–कात्तिकको चार महीनामा देशले रु. ४० अर्ब २० करोडको वस्तु निर्यात गरेको छ भने रु. ४ खर्ब २ अर्ब मूल्यको वस्तु आयात गरेको छ । अर्थात, आयातको दशांश मात्रै निर्यात हुने गरेको छ । यद्यपि, आयात अघिल्लो वर्षको यही अवधिका तुलनामा १०.६ प्रतिशतले घटेको छ, निर्यात भने १०.८ प्रतिशतले बढेको छ ।