विश्वका १०० प्रभावशाली नर्स तथा मिडवाइफमा नेपालका चार जना
विश्वका १०० प्रभावशाली नर्स तथा मिडवाइफको सूचीमा नेपालका ४ जना परेका छन्। वुमन इन ग्लोबल हेल्थले सार्वजनिक गरेको सूची अनुसार नेपालका मिडवाइफ प्रशंशा बुढा लामा र रुक्मणी त्रिपाठी, नर्सहरू सुष्मा योञ्जन र दुर्गा सापकोटा रहेका छन्।
यूएनएफपीएले सन् २००९ देखि नै नेपालमा मिडवाइफ्री शिक्षाको विशिष्टिकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य साझेदारसँग मिलेर काम गर्दै आइरहेको छ।
सूचीमा परेकी मिडवाइफ लामा र त्रिपाठीले कोभिड–१९ को समयमा गर्भवती महिलाहरूलाई अनलाइन तथा टेलिफोनमार्फत निःशुल्क परामर्श दिँदै आएका छन्।
नर्स योञ्जनले समुदायमा पुगेर महिलाहरूलाई पोषण तथा उनीहरूको स्वास्थ्य समस्याको विषयमा पराशर्म दिने गरेकी छन् भने सापकोटाले यौन, प्रजनन्, मातृ तथा नवजात शिशु र किशोर किशोरीको स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको यूएनएफपीएले जनाएको छ। सापकोटा अधिवक्ता समेत हुन्।