कोभिडविरुद्धको भ्याक्सिन जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड-१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताएका हुन्।
मन्त्री पौडेलले भने ‘‘भ्याक्सिन आयात सरकारले गर्ने र जनतालाई निःशुल्क उपलब्ध गराउने भएकोले यसमा नागरिकहरूले दायित्व व्यहोर्नु पर्दैन।’’ अर्थमन्त्री पौडेलले भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशहरूसँग कूटनीतिक संवाद जारी राखिएको पनि बताए।
विश्व बजारमा भ्याक्सिन उपलब्ध हुनासाथ नेपालमा आयात गर्नका लागि तयारी भइरहेको उनको भनाइ छ। अर्थमन्त्री पौडेलले मापदण्ड अनुसार कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका र वृद्धावृद्धालाई प्राथमिकता दिइने छ। त्यसपछि सबैलाई भ्याक्सिन उपलब्ध गराएर कोभिड विरुद्धको लडाइँ निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहेको बताए।
मन्त्री पौडेलले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्र र जनजीवनलाई पुरानै लयमा फर्काउन र चलाउनमान बनाउन सरकार लागि परेको पनि बताए।