टीबीएम प्रयोग हुने दोस्रो आयोजना सुनकोशी मरिनको सुरुङ खन्न ठेकेदार छनौट गरिँदै
सुनकोशी मरिन डाइभर्सन (नदी पथान्तरण) बहुउदेश्यीय आयोजना निर्माण गर्न ठेकेदार छनौटको प्रकृया अघि बढेको छ। सुनकोशीको पानी मरिन खोलामा झार्ने यो आयोजनाको सुरुङ निर्माण गर्न मागिएको बोलपत्रमा प्रस्ताव पेश गर्नेमध्ये चार कम्पनी पूर्व योग्यता मूल्यांकनमा छनौट भएका छन्।
छनौट भएका तीन कम्पनी चिनियाँ छन् भने एक भारतीय र नेपाली कम्पनीले संयुक्त प्रस्ताव पेश गरेको जेभी (ज्वाइन्ट भेन्चर) छ। टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरेर सुरुङ बनाउन इच्छुक १२ कम्पनीले प्रस्ताव पेश गरेका थिए। यसमध्ये चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप, भारतको हिन्दुस्तान कन्स्ट्रक्सन र नेपाली कम्पनी कालिका कन्स्ट्रक्सनको जेभी, चिनियाँ कम्पनीद्धय सुमेक कम्प्लिट इक्युपमेन्ट एण्ड इन्जिनियरिङ एवं साङ्सी हाइड्रोलिक इन्जिनियरिङ कन्ट्रक्सन ब्युरोको जेभी र सिनोहाइड्रो कर्पोरेसन गरी चार कम्पनी सुरुङ खन्ने पूर्व योग्यता मूल्यांकनमा छनौट भएका हुन्।
डेढ महिनाको समय दिएर यी चार कम्पनीसँग वित्तीय र प्राविधिक प्रस्ताव आह्वान गरिएको सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यिय आयोजनाका निर्देशक सुशिलचन्द्र आचार्यले बताए। यी कम्पनीहरुको मुख्य रुपमा वित्तीय प्रस्ताव मूल्यांकन गरी सस्तोमा सुरुङ निर्माणको कबोल गर्नेलाई दुई महिनाभित्र ठेक्का दिइने उनले बताए।
सुनकोशी मरिन टीबीएम प्रयोग गर्न लागिएको नेपालको दोस्रो आयोजना हो । यसअघि, भेरी–बबई बहुउदेश्यीय आयोजनामा पनि टीबीएम प्रयोग गरी डेढ वर्षमैं १२ किमी सुरुङ खनिएको थियो। यो विशाल उपकरणको प्रयोग गरेपछि सुरुङ खन्ने काम द्रुत रुपमा अघि बढ्छ।
सुनकोशी मरिन आयोजनामा दुई महीनाभित्र ठेकेदार छनौट गरी निर्माण थाल्ने तयारी गरिएको छ। “आयोजनाका लागि जग्गा व्यवस्थापन, वातावरणीय अध्ययनसहितका सम्पूर्ण तयारी भइसकेको छ, ठेकेदार छनौट भएको भोलिपल्टदेखि काम शुरु गर्न सकिन्छ,” आचार्यले भने।
दुई महीनाभित्र ठेकेदार छनौट भएपनि सुरुङ खन्न शुरु हुन भने अझै कम्तीमा एक वर्ष कुनुपर्छ। आयोजनामा प्रयोग हुने टीबीएम बनाउन करिब एक वर्ष लाग्ने अनुमान छ। विदेशमा निर्माण हुने यस्तो विशाल उपकरण ठेकेदारले टुक्राटुक्रा गरी ल्याएर जडान गरेपछि सुरुङ खन्न शुरु हुनेछ। खन्न थालेको दुई वर्षभित्रमा सुरुङ निर्माण हुने अपेक्षा गरिएको आचार्यले बताए।
मध्य–तराईका आठमध्ये पाँच जिल्लाको कृषि उत्पादनमा कायापलट गर्ने आयोजनाका रूपमा करीब एक दशकअघिदेखि यो आयोजनाको चर्चा हुँदै आएको थियो। आयोजनाले सिन्धुलीको खुर्कोटभन्दा डेढ किलोमिटर उत्तर–पश्चिमबाट १३ किलोमिटर लामो सुरुङ मार्फत सुनकोशीको पानी वागमती नदीको सहायक, मरिन खोलामा खसाल्छ।
यसरी सुरुङ मार्फत ल्याइने सुनकोशीको पानीबाट सिन्धुलीको सिरुवाटारमा पावरहाउस निर्माण गरेर २७ मेगावाट बिजुली निकालिनेछ। र, त्यही पानी वागमती सिंचाइ आयोजनामा जोडिएपछि बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टर खेतीयोग्य जमीनमा सिंचाइ सुविधा पुग्नेछ। यो परियोजना निर्माण गर्न कुल रु.५३ अर्ब लागतको अनुमान गरिएको छ।
सुनकोशी–मरिन बहुउद्देश्यीय आयोजनाबाट सिंचाइ मार्फत कृषि उत्पादनमा वार्षिक कम्तीमा रु.२५ अर्ब र विद्युतबाट वार्षिक रु.२ अर्ब प्रत्यक्ष लाभ मिल्ने प्रक्षेपण गरिएको छ। सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत यो आयोजना निर्माणको घोषणा गरेको थियो।