डीआईजी पोखरेल एआईजीमा बढुवा, अपराध अनुसन्धान विभागमा पदस्थापन
सरकारले प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई अत्तिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले हिमालखबरलाई बताए।
यसअघि गृहसचिव अध्यक्ष रहेको बढुवा समितिले एआईजीमा बढुवाका लागि सरकारलाई पोखरेलको नाम नै सिफारिस गरेको थियो।
बढुवा भएका एआईजी पोखरेललाई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ। उनी यसअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुख थिए। रानीपोखरीमा अब एआईजीको दरबन्दी कायम गरिएको छ।
मन्त्रिपरिषद् बैठकले महानगरीय प्रहरी कार्यालय राखीपोखरीको प्रमुखमा एआईजी हरिबहादुर पालको सरुवा गरेको छ। पाल यसअघि अपराध अनुसन्धान विभागमा कार्यरत थिए।
बुधबारमात्रै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको थियो।
गृहमन्त्रालयले ५ वटा डीआईजीको दरबन्दी थपको प्रस्ताव मन्त्रिपरिषद्मा लगेकोमा मन्त्रिपरिषद्को प्रशासनिक समितिले एउटा एआईजीको समेत दरबन्दी थप गरेको थियो। सोही समितिको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो।
पोखरेललाई भावी महानिरीक्षक बनाउनेगरि एआईजीको दरबन्दी थप गरेर बढुवा गरिएको चर्चा छ।