नवौं राष्ट्रिय खेलकुद फागुनमा नहुने निश्चित, खेलकुद मन्त्री भन्छन्- नयाँ मिति छिटै घोषणा गर्छौं
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले फागुनमा गर्ने तय गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन नसक्ने बताएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले प्रतियोगिताको अर्को मिति छिटै घोषणा गरिने बताए। कोरोना संक्रमण महामारीको जोखिम कम हुँदै गएपछि परिषद्को आगामी बैठकबाट नयाँ मिति तय गरिने उनले बताए।
मन्त्री विश्वकर्माले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लागि तयार गरिने पूर्वाधार विकासको काम महामारीका कारण प्रभावित भएकाले त्यसको व्यवस्थापनका गर्न पनि बाँकी रहेको मन्त्री बताए।
कार्यक्रममा राखेपका सदस्य-सचिव रमेश सिलवालले कोरोनाको जोखिमसँगै खेलकुद गतिविधि सञ्चालन गर्नुपर्ने भएकाले स्वास्थ्यको मापदण्डलाई ख्याल गर्नुपर्ने बताए।
एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले खेल संघहरुलाई सरकारले नियमित बजेट उपलब्ध गराउन आवश्यक रहेको बताए।
छलफलमा गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानका प्राविधिक निर्देशक स्वयंभूराज डंगोलले नेपाली दुतावास भएका देशका राजदूतले गैर आवासीय रुपमा विदेशमा बसेका नेपाली खेलाडीलाई प्रतियोगिताहरुमा सहभागी गराउन पहल गर्नुपर्ने बताए।
यसअघि गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय भएको थियो।