कोरोना भाक्सिन खरीद र वितरण पारदर्शी बनाउन नागरिक अगुवाको माग
नागरिक अगुवाहरूले कोरोनाविरुद्धको खोप खरीद र वितरणलाई पारदर्शी बनाउन सरकारसँग माग गरेका छन्। भ्याक्सिन छनोट र आयातदेखि वितरणको प्राथमिकता निर्धारणसम्म पारदर्शी विधि र प्रक्रिया अपनाउन तथा त्यसका लागि समयमै उचित गृहकार्य गर्न उनीहरूले सरकारलाई अपील गरेका हुन्।
सुशिला कार्की, महेशकुमार उपाध्याय, सुरेशराज शर्मा, विद्याधर मलिक, अनुराधा कोइराला, विमल कोइराला, नोवेलकिशोर राई, मोहना अनसारी, रमेश खरेल र केदारभक्त माथेमालगायतका नागरिक अगुवाले विज्ञप्ति जारी गर्दै राज्यका लागि ठूलो आर्थिक र व्यवस्थापकीय भार पर्ने यो काम सामयिक, चुस्त र प्रभावकारी हुन सके महामारीको संकटबाट छिट्टै पार पाउन सक्ने उल्लेख गरेका छन्।
यसले महामारी नियन्त्रणमा बल पुग्ने मात्रै नभएर सरकारको आफ्नै विश्वसनीयता पनि बढ्ने उनीहरूले बताएका छन्।
‘महामारी नियन्त्रणको प्रारम्भिक चरणमा झैं अब पनि अव्यवस्था र अनियमितताहरू भए भने त्यसले यो संकटलाई झनै लामो बनाउन सक्नेछ’, विज्ञप्तिमा थप भनिएको छ।