सामाजिक सुरक्षा कोषले घर बनाउन ७५ लाख र अध्ययन गर्न ३५ लाखसम्म सापटी दिने
सामाजिक सुरक्षा कोषले योगदानकर्ताका लागि घर किन्न, नयाँ बनाउन, मर्मत गर्न र स्वदेश तथा विदेशमा अध्ययन गर्न चाहनेका लागि सापटी दिने भएको छ।
कोषले ‘सामाजिक सुरक्षा कोष लगानी कार्याविधि २०७७’ जारी गर्दै यस्तो सापटी दिने व्यवस्था गरेको जानकारी दिएको छ। कोषले योगदानकर्ता सापटी अन्तर्गत योगदान कोषको आधारमा घर बनाउन, किन्न, मर्मत गर्न वा तला थप गर्न रु.७५ लाख दिने भएको छ। घर सापटी रकम लिनको लागि १५ वर्षको तलब वा रु.७५ लाख जुन कम हुन्छ सोही बराबरको रकम पाइने कार्यविधिमा उल्लेख छ।
योगदानकर्तालाई कोषले अध्ययन गर्न पनि रकम दिने भएको छ। आफैं वा श्रीमती/श्रीमान् वा छोराछोरीलाई स्वदेश वा विदेशमा लिइने उच्च शिक्षाको लागि शैक्षिक सापटीबाट रु.३५ लाखसम्म लिन पाइने गरी कार्यविधि तयार पारिएको छ।
योगदानकार्तालाई सामाजिक कार्यको लागि पनि रु.५ लाखसम्मको सामाजिक कार्य सापटी कोषबाट रकम लिन सकिने व्यवस्था गरिएको छ। सामाजिक कार्य सापटीको लागि लिने रकम भने अन्य अन्य कोषबाट स्वाप गर्ने प्रयोजनको लागि मात्रै लिन पाइने छ। यस्तो सापटी लिन तीन वर्षसम्म लगातार कोषमा योगदान गेरकै हुनुपर्ने सर्त पनि कोषले तोकेको छ।
कोषले योगदानकर्तालाई आकर्षित गर्न नयाँ योजना ल्याएको हो। सामाजिक सुरक्षा कोष सुरु भएको दुई वर्षसम्म पनि रोजगारदाता र श्रमिकहरू आकर्षित हुन नसकेपछि नयाँ योजनास्वरुप कार्यविधि संशोधन गरेर उक्त सापटी सुविधा ल्याएको कोषले जानकारी दिएको छ। योगदानकर्ता विशेष सापटीबाहेक अन्य सबै सापटीको कूल योगदान रकम रु.१ करोड वा १५ वर्षको तलब बराबरको रकममध्ये कम हुने रकम सीमाभित्र रही धितोले खामेसम्म र कर्जा भुक्तानीको आधारमा पर्याप्त भएको हुनुपर्ने सर्त कोषले तोकेको प्रवक्ता विवेक पन्थीले बताए।
कोषले परियोजना कर्जा अन्तर्गत जमानत कर्जा, संस्थागत कर्जा तथा सह–वित्तियकरण कर्जाको व्यवस्था पनि गरेको छ। साथै अन्य क्षेत्रहरूमा सहकारी ऋण पत्रमा लगानी, मुद्दती निक्षेपमा लगानी, शेयरमा लगानी, डिवेन्चरमा लगानी, म्युचुअल फण्डमा लगानी तथा स्थिर सम्पत्तिमा लगानी गर्ने सक्ने व्यवस्था गरेको कोषका प्रवक्ता विवेक पन्थीले १९ मंसिरमा जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।