आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने गरी सरकारले नीतिगत व्यवस्था गर्छ: उद्योगमन्त्री भट्ट
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आन्तरिक लगानीलाई प्रोत्साहन गर्नेगरी निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुसँगको भेटमा मन्त्री भट्टले वैदेशिक लगानी भन्दा आन्तरिक लगानीलाई प्रोत्साहन गर्नेगरी काम गरिने स्पष्ट पारे। कोरोना संक्रमण महामारीपछिको परिस्थितिमा लगानी बढाई रोजगारी सिर्जना गर्न सरकार र निजी क्षेत्रबीच हातेमालो जरुरी रहेको उनको भनाइ थियो।
यसका लागि उद्योग मन्त्रालयले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नेगरी नीतिगत व्यवस्था गर्ने मन्त्री भट्टले बताए।
महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको स्थितिमा कतिपय उद्योगहरुमा मजदूरहरुले बन्द हडताल गरिरहेको भन्दै त्यसलाई रोक्न पहल गरिदिन मन्त्री भट्ट समक्ष माग गरे।
कार्यक्रममा उद्योगी व्यवसायीहरुले साना तथा मझौला उद्योगहरुले पुनर्कर्जाको सुविधा पाउन नसकेको बताएका छन्। यस्तै, पुनर्तालिकिकरणमा समेत समस्या देखाकोले त्यस्ता समस्या समाधानमा मन्त्रालयले पहल गर्नुपर्ने उद्योगीहरुले बताए।