पशुपतिमा आधुनिक शवदाह गृह सञ्चालन
पशुपति क्षेत्रमा आधुनिक शवदाह गृह सञ्चालनमा ल्याइएको छ। एभरेष्ट ब्यांक लिमिटेडले निर्माण गरेको वातावरण मैत्री र प्रदूषणरहित शवदाह गृह बुधबारदेखि सञ्चालनमा आएको हो।
आज ब्यांकले औपचारिक कार्यक्रम आयोजना गरी उक्त शवदाह गृह पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ।
यससँगै आजैदेखि उक्त शवदाह गृहलाई सञ्चालनमा ल्याइएको छ। हस्तान्तरण कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दाउराको खपत कम हुने र वातावरण प्रदूषणलाई पनि कम गर्ने भएकाले आधुनिक शवदाह गृह पशुपति क्षेत्रका लागि महत्वपूर्ण हुने बताए।
आधुनिक शवदाह गृहले ‘हिन्दूहरूको मृत्यु संस्कार’लाई जोगाइराख्ने र वातावरणमा समेत कम असर पार्ने मन्त्री भट्टराईले विश्वास व्यक्त गरे।
ब्यांकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करीब ६० लाख रूपैयाँमा आधुनिक शवदाह गृह निर्माण गरिएको बताएको छ।
ब्यांकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगीले आधुनिक शवदाह गृहमा ६० प्रतिशत दाउरा कम लाग्ने बताए। एउटा शव जलाउन बढीमा १ घण्टा १५ मिनेट लाग्ने उनको भनाइ छ।