चिनियाँ रक्षामन्त्री २१ सदस्यीय प्रतिनिधिमण्डल लिएर आज आउँदै
चिनियाँ रक्षामन्त्री वेई फङ्गवे २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर आज एक दिने नेपाल भ्रमणमा आउँदैछन्। उनले करीब आठ घन्टा काठमाडौँमा बिताउने छन्।
रक्षा मन्त्री फङ्गवे विशेष विमानबाट आज बिहान करीब ११ बजे काठमाडौँ आइपुग्ने छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन्। प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको पनि कार्यभार सम्हालेका छन्।
चिनियाँ रक्षामन्त्री फङ्गवे तथा प्रधानसेनापति पूर्णचन्द्र थापाबीच द्विपक्षीय वार्ता हुनेछ। उनले नेपाल भ्रमणको धेरै समय सैनिक मुख्यालयमा नै बिताउने छन्। परराष्ट्र मन्त्रालयले नेता वेइको यो भ्रमणलाई ‘‘कार्यगत’ भ्रमण भनेको छ।
दुवै देशको हित र साझा भविष्यका लागि सहकार्य र साझेदारीलाई बढावा दिँदै सुरक्षासम्बन्धी मामिलामा आश्वस्त हुन भ्रमण उपयोगी हुनसक्ने जानकारहरु बताउँछन्। चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आएको झण्डै एक वर्षपछि अर्को उच्चस्तरको भ्रमण हुन लागेको हो।