चन्द्र ढकाल भन्छन्- अब चुनावी प्यानल बिर्सिएर काम गर्छु
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अब चुनावी प्यानललाई बिर्सिएर सबै उद्योगी व्यवसायीको हितमा काम गर्ने बताएका छन्।
निर्वाचित भएपछि प्रतिक्रिया दिंदै ढकालले आफूले सम्पुर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेको र आफ्नो जीत सबै व्यवसायीको जीत भएको बताए। मतपरिणाम घोषणासँगै आफूले अब व्यवसायीको हितमा काम गर्ने उनले प्रतिबद्धता जनाए।
उनले भने, “हामीहरुको पक्ष र विपक्ष भनेको (मंसीर) १३ गते साँझसम्म मात्रै हो। आजदेखि पक्ष र विपक्षभन्दा पनि सम्पूर्ण निजी क्षेत्रको आवाज उठाउने हो। निर्वाचित हामी सबैले व्यवयासीका सम्बन्धमा एउटै आवाज उठाउनेछौँ।” निजी क्षेत्रले नियमनकारी निकायसँग पैरवी गर्ने हुँदा आफूहरुले त्यसलाई निरन्तरता दिने उनले बताए।
यस्तै एशोसिएट तर्फको उपाध्यक्षमा विजयी रामचन्द्र संघाईले उद्योगहरुमा आइपरेका समस्या र श्रमिकको समस्या समाधानका लागि आफूले पहल गर्ने बताए। उनले निर्यातमूलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरि निर्यात बढाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ छ।
जिल्ला नगरतर्फको उपाध्यक्षमा विजयी दिनेश श्रेष्ठले जिल्ला नगर वाणिज्य संघहरुलाई आफैंमा सबल र सक्षम बनाउनुको साथै व्यावसायिक ज्ञान वृद्धि लगायततर्फ आफ्नो पहल हुने बताए। वस्तुगततर्फको उपाध्यक्षमा विजयी अन्जन श्रेष्ठले वस्तुगत संघको विश्वासमा आफूले निर्वाचन जितेकाले उनीहरुका हितका लागि काम गर्ने प्रतिबद्धता जनाए। लगानीको अवसर र वातावरण सँगै सुरक्षाको वातावरण मिलाउने कामका लागि विशेष पहल गर्ने उनको भनाइ छ।