उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन्। उनले किशोर प्रधानलाई पराजित गरेका हुन्।
अबको कार्यसमितिको वरिष्ठ उपाध्यक्ष अर्को कार्यसमितिमा स्वतः अध्यक्ष बन्ने विधानको व्यवस्था अनुसार ढकाल शेखर गोल्छापछि महासंघको २०औँ अध्यक्ष बन्नेछन्। अबको कार्यसमितिमा भने तीन वर्षका लागि वरिष्ठ उपाध्यक्ष गोल्छा स्वतः अध्यक्ष बन्ने छन्।
ढकालले एशोसिएट र वस्तुगत समूहमा प्रधानलाई उछिनेका थिए। प्रधानले जिल्ला तथा नगरतर्फ मात्र ढकाललाई उछिने। एशोसिएटतर्फ चन्द्र ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत ल्याए। यो समूहमा ३० प्रतिशत मतभार छ।
त्यस्तै वस्तुगतमा चन्द्र ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याए। यो समूहमा २० प्रतिशत मतभार छ। ५० प्रतिशत मत भार रहेको जिल्ला तथा नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याए। ढकालले कुल ५४.२६ प्रतिशत र प्रधानले ४५.७४ प्रतिशत पाए।
गए राति नै मत परिणाम आएको महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधान पक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्सतर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी भए। प्रधान समूहका अञ्जन श्रेष्ठ ढकाल समूहका उमेशलाल श्रेष्ठलाई पराजित गर्दै वस्तुगततर्फको उपाध्यक्षमा भएका हुन्। उमेशलालले ३७ मत प्राप्त गर्दा अन्जनले ६२ मत पाए।
यस्तै जिल्ला तथा नगरतर्फ प्रधान प्यानलका दिनेश श्रेष्ठले ५५ मत पाउँदा चन्द्र ढकाल प्यानलका गुणनिधि तिवारीले ५० मत प्राप्त गरे।