सात दिन, १४ सामग्री
११ चैतदेखि शुरु कोभिड १९ विरुद्धको बन्दाबन्दी लगत्तै साप्ताहिक 'हिमाल खबरपत्रिका'ले आफ्नो छापा संस्करण स्थगन गरी अनलाइन पोर्टल मार्फत अझ बढी सक्रिय, सचेत, सत्य र विश्वसनीय पत्रकारिता अभ्यासको प्रयत्न गरिरहेको छ। 'सम्पादकको सिफारिश, सात दिन १४ सामग्री' त्यसैमध्येको एक साप्ताहिक स्तम्भ हो, जसमा हामी बितेको साताका उल्लेख्य घटना, सर्वाधिक पढिएका र पढिनुपर्ने समाचार, विचार, विश्लेषणलाई समयक्रम अनुसार प्रस्तुत गरिरहेका छौं। हिजोका यी सामग्रीहरुप्रतिको तपाईंको आजको मूल्यांकनले भोलिको आकलन गर्न सहज हुने हाम्रो विश्वास छ।
१. सामाजिक सञ्जाल, जहाँ फरक मतलाई निषेध छ !
यतिबेला डिजिटल युगको हरेक मान्छेलाई हेर्दा लाग्छ ऊ सम्भावित ‘अनाम मान्छे’ हो जसको परिचय छ पनि, छैन पनि। अब उसले आफ्नो नाम, थर, अनुहार, ठेगाना केही खुलाउनुपर्दैन। किनकि ऊ डिजिटल युगको मान्छे हो। ऊ यति शक्तिशाली भएको छ कि अरू कसैको अनुहार चोरेरै ऊ खुलेआम विश्व डुल्न सक्छ। अभिव्यक्ति स्वतन्त्रताका उच्चतम् डिजिटल मञ्च बनेका सामाजिक सञ्जाल पछिल्लो समय फरक विचारलाई सिध्याउने अस्त्र बनेका छन्। कतै यसले हाम्रो लोकतान्त्रिक अभ्यास र आचारव्यवहारमै त प्रहार गरिरहेको छैन ? सविना देवकोटाको ब्लग।
२. ‘चिनियाँ रक्षामन्त्री आएपछि मात्र प्रष्ट हुनेछ नेपालबारे भारतीय मूड’
पछिल्लो समय अप्ठेरो अवस्थाबाट गुज्रिइरहेको नेपाल–भारत सम्बन्धमा देखापरेको संवादहीनता तोड्न अर्थपूर्ण मानिएको भ्रमण सकेर भारतीय विदेशसचिव हर्षबर्धन श्रृंगला शुक्रबार काठमाडौंबाट दिल्ली फर्किएका छन्। भारतीय विदेश सचिवको भ्रमणले नेपाल र भारतबीच लामो समयदेखिको संवादहीनता तोडिएको चर्चा भइरहँदा दुई दिनपछि हुन लागेको चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई नेपाल–भारत सम्बन्धमा अर्थपूर्ण मानिएको छ।
३. सरकारको उपेक्षा छँदैथियो, संसद अब विपक्षीको पनि बेवास्तामा
देश कोरोनाभाइरस संक्रमणको महामारीको चपेटामा परेको ८ महीना पुग्यो। संक्रमण तीब्र बनिरहँदा संक्रमितले उपचार नपाउने अवस्था सामान्य बन्नपुगेको छ भने समुदायस्तरमा संक्रमण फैलिँदा पनि परीक्षण पर्याप्त र प्रभावकारी हुनसकेको छैन। यो महामारीको चपेटामा परेको जनस्वास्थ्यको अवस्था झन् बिजोग छ। महामारीको बहानामा संसद छलेर सरकार अध्यादेशमा रमाइरहँदा विपक्षी दलहरू पनि यो विघ्न संकटका बेला जनप्रतिनिधिको थलोलाई सक्रिय बनाउन पहल गरिरहेका छैनन्। लक्ष्मी बस्नेतको रिपोर्ट।
४. बलात्कार मुद्दामा पीडकप्रति ‘उदार’ अदालत, दिन्छन् न्यूनतम सजाय
बलात्कार मुद्दामा दोषीलाई कैद सजायको माथिल्लो हद बढाउने व्यवस्थासहित मन्त्रिपरिषद्ले अध्यादेश ल्याउने निर्णय गरेको छ। तर, न्यायाधीशले स्वविवेकीय अधिकार प्रयोग गर्दै न्यूनतम सजाय मात्र दिने प्रवृत्ति नरोकिएसम्म सजाय बढाउने कानून पनि प्रभावकारी हुनेछैन। तुफान न्यौपानेको रिपोर्ट।
५. अपांगता भएका छोरी बलात्कारबाट जोगाउनै मुश्किल, अभिभावकले नै लगाइदिन्छन् गर्भ निरोधक सुइ र साधन
बहुअपांगता तथा बौद्धिक अपांगता भएका बालिका र महिलामाथि बलात्कार तथा यौनजन्य हिंसा हुने डरले सम्भावित गर्भ रोक्न अभिभावकले नै गर्भ निरोधक साधन प्रयोग गरिदिने गरेका छन्। लक्ष्मी बस्नेतको रिपोर्ट।
६. ओलीको प्रस्ताव– ‘माधव नेपाल पार्टी अध्यक्ष वा संयोजक, वामदेव चुनावी प्रधानमन्त्री’
फुटको सँघारमा पुगेको नेकपाभित्रको शक्ति संघर्ष १३ मंसीरको सचिवालय बैठकतर्फ केन्द्रित भइरहँदा दुवै समूह सघन तयारीमा जुटेका छन्। तर, प्रधानमन्त्री एवं अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहालको प्रस्तावको ‘काउन्टर’मा ल्याउने प्रस्तावमै अब नेकपाको अगाडिको यात्रा निर्भर हुने देखिन्छ। रामकुमार शाहीको रिपोर्ट।
७. पाँचपोखरी: प्रगतिका ५ सूत्र
राजधानी उपत्यकादेखि उत्तरपूर्व सिन्धुपाल्चोकको जुगल हिमाल शृंखलाको फेदैमा पर्छ, सिन्धुपाञ्चोकको पाँचपोखरी तीर्थस्थल — छेवैको हेलम्बु उत्तरको गोसाइँकुण्डका तालहरू जत्तिकै रमणीय, तर हिमाल भने अझै नजिक। काठमाडौं छेवैको यो भूगोल गोसाइँकुण्ड जस्तो परिचित छैन, तर यहाँको लेकवासीलाई दक्षिणतिर रातको उपत्यकाको उज्यालोले जिस्क्याइरहेको हुन्छ। नबिथोलिएको ठाउँ छ, काठमाडौं नजिकै, जहाँको स्थानीय रहनसहन र पहाड हिंडाइ चढाइले बोलाइरहेछ। कनकमणि दीक्षितको रिपोर्ट।
८. बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा बेवारिसे शव जलाउने नेपालकी सपना मगर
बीबीसीले सार्वजनिक गरेको विश्वका १०० प्रेरणादायी तथा प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छन्। अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हरेक वर्ष विभिन्न क्षेत्रमा काम गर्दै संघर्ष गरेर सफलता पाएका प्रेरणादायी तथा प्रभावशाली एक सय जनाको सूचीमा बेवारिसे अवस्थामा भेटिएका शव पशुपतिमा जलाउँदै आएकी सपना पनि परेकी हुन्।
९. बालबालिकालाई सिकाउनुपर्ने जीवनोपयोगी सीप पहिले अभिभावक र शिक्षकलाई !
बालबालिकाले जीवनयापनका लागि नसिकी नहुने पहिलो सीप हो, खाना खानु। तर, बहुसंख्यक आमाहरुकै कारण यो सीप सिक्नुपर्ने उमेरका बालबालिका सिकाइबाट बञ्चित छन्। त्यसकारण हाम्रा बालबालिका परनिर्भरताको पहिलो पाठ आफ्नै अभिभावकबाट सिक्दैछन्। मधु राईको ब्लग।
१०. भारतले छोटो हवाई रुटको अनुमति नदिंदा नेपाललाई उडानैपिच्छे घाटा
पोखरा र भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग पूरा भएका छन्। आन्तरिक सजावट र आवश्यक उपकरण जडान गरेर विमानस्थल ६ महीनामा नै सञ्चालन गर्न सकिने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी गर्दैछ। नेपालले वर्षौंदेखि सिमरा प्रवेश विन्दुको विकल्पमा नयाँ हवाई रुट प्रस्ताव गरे पनि भारतले आफ्नो भूमिबाट उडान अनुमति नदिंदा नेपाली वायुसेवाले हरेक उडानमा नोक्सान भोग्दै आएका छन्। राजु बास्कोटाको रिपोर्ट।
११. ४० वर्षदेखि हराएका छोरालाई पर्खिरहेकी धनमाया (भिडिओ रिपोर्ट)
इलामको माई नगरपालिका वडा नम्बर १०, लुम्बाक गाउँकी ८१ वर्षीया धनमाया तिम्सिनाले आफ्नो हराइरहेको छोरो फर्किएर आउने बाटो हेर्न थालेको ४० वर्ष भयो। उनका जेठा छोरा दीपक भनिने दुप्तप्रसाद भारतको कलकत्तास्थित दमदम सेन्ट्रल करेक्सनल होममा कैद छन्। ३९ वर्षदेखि जेलमा परेका उनी पछिल्लो १५ वर्षदेखि कलकत्ताको यही कारागारमा छन्। हिमालखबरमा दीपक कलकत्ताको जेलमा रहेको समाचार प्रकाशित भएपछि दीपकको उद्धारको प्रयास पनि भइरहेको छ। त्यसबारे सामान्य जानकारी पाएकी दिपककी आमा धनमायाले अब भने छोरा फर्किआउनेछन् भन्ने आशा गरेकी छन्। लक्ष्मीप्रसाद मिश्र र तुफान न्यौपानेको रिपोर्ट।
१२. नेकपाको एकता बचाउने हो भने...
प्रधानमन्त्री ओली नेतृत्वको सरकार पाँच वर्ष टिक्ने र दुई अध्यक्ष रहने प्रणाली अनुसार सन्तुलन मिलाएर पार्टी चलाउने कुरामै नेकपाको भविष्य जोडिएको छ। तर, त्यसका लागि कसले के गर्ने ? विष्णु रिजालको टिप्पणी।
१३. त्रिशूली गल्छी आयोजना खारेजीपछि सर्वसाधारण बिलखबन्दमा, करोडौं लगानी कसरी होला फिर्ता ?
नुवाकोट र धादिङमा निर्माण प्रस्ताव गरिएको त्रिशूली गल्छी जलविद्युत् आयोजनाको अनुमति खारेज भइसक्दा यसमा घर–खेत बेचेर करोडौं रकम लगानी गरेका सर्वसाधारणले पैसा फिर्ता पाउने टुंगो छैन। रमेश कुमारको रिपोर्ट।
१४. पत्रु खाना ‘राष्ट्रिय खाजा’ होइन रोग हो
चाउचाउ सबैको प्रिय खाजा बनेको छ भन्दैमा त्यो स्वस्थकर होइन भन्ने कुरा सबैलाई हेक्का हुनुपर्छ। चुरोट र रक्सीमा पनि ‘लोकप्रिय ब्राण्ड’ हरू छन्। तर, स्वस्थकर होइनन्। चाउचाउ पनि त्यस्तै हो। डा. अरुणा उप्रेतीको टिप्पणी।