बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई जवाफदेही बनाऊ: राष्ट्र संघ
संयुक्त राष्ट्र संघको नेपालस्थित आवासीय प्रतिनिधिको कार्यालयले महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कार र हत्या घटनाको कडा निन्दा गरेको छ।
राष्ट्र संघले सम्बन्धित निकायलाई कानूनको उचित प्रक्रियाको पालना गर्न र त्यसमा संलग्नलाई जवाफदेही बनाउन पनि आग्रह गरेको छ।
राष्ट्र संघको नेपालस्थित कार्यालयले आज एक विज्ञप्ति प्रकाशन गर्दै भनेको छ, ‘लैंगिकतामा आधारित हिंसा विरुद्धको १६ दिने अभियानको पूर्वसन्ध्यामा घटना भएको छ। यसले महिला र बालिका विरुद्ध हुने हिंसा रोक्न तत्काल काम गर्नुपर्ने आवश्यकतामाथि पनि प्रकाश पारेको छ।’
लैंगिकतामा आधारित हिंसाका प्रभावित हरेक व्यक्तिले आपतकालीन उपचार र अन्य स्वास्थ्य हेरचाहका साथै उनीहरुलाई आवश्यक पर्ने मनोसामाजिक हेरचाह, संरक्षण र न्याय पाउनुपर्नेमा पनि राष्ट्र संघले जोड दिएको छ।
महोत्तरीकी सानी बालिकालाई न्याय दिन र नेपालका सबै महिला र बालिकालाई हिंसाबाट जोगाउन आवश्यक रहेको राष्ट्र संघले औंल्याएको छ।