निःशुल्क खानासँगै न्यानो कपडा पनि वितरण
कोभिड–१९का कारण रोजगारी गुमाएपछि भोकै परेका मानिसहरूलाई नि:शुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले खाना खान आउनेहरूलाई न्यानो कपडा पनि वितरण गरेको छ।
सोमबार थापाथलीस्थित् प्रसूती गृह पछाडि खाना खान आएका मानिसहरूलाई जाडोयाममा लगाउने न्यानो कपडा वितरण गरेको हो। ट्राउजर, थर्मकोट लगायतका न्यानो कपडा वितरण गरिएको हाम्रो टीम नेपालले बताएको छ। न्यानो कपडा पाएपछि खाना खान आउने व्यक्तिहरू खुशी भएका छन्।
हाम्रो टीम नेपालका उमेश बोहराले विभिन्न संघ संस्था, व्यक्तिहरूको सहयोगमा आठ महीनायता खाना खुवाउँदै आएको बताए। अहिले भने चिसो बढेका कारण वभिन्न व्यक्तिको सहयोगमा न्यानो कपडा वितरण गरिएको उनले बताए।
कोभिडका कारण गएको ११ चैतदेखि बन्दाबन्दी भएपछि रोजगारी गुमाएर खाना खान नपाएका व्यक्तिहरूलाई हाम्रो टीम नेपालले निःशुल्क खाना खुवाउँदै आएको छ।
यसअघि खुल्ला मञ्चमा खाना खुवाउँदै आएको यो समूहले काठमाडौं महानगरपालिकाले वैकल्पिक ठाउँको व्यवस्था गरिदिएपछि ३ मंसिरदेखि थापाथलीस्थित प्रसूती गृहको पछाडिको खुल्ला ठाउँमा खाना खुवाउँदै आएको छ।