त्रिभुवन अन्तर्राष्ट्रिय र गौतमबुद्ध विमानस्थल सुधारका लागि एडीबीको रु. १८ अर्ब ऋण सहयोग
एशियाली विकास ब्यांक (एडीबी) ले नेपालका दुई विमानस्थलको स्तरोन्नति र सुधारका लागि १५ करोड अमेरिकी डलर (करीब रु. १८ अर्ब) सहुलियतपूर्ण ऋण लगानी गर्ने भएको छ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमवुद्ध विमास्थलको क्षमता अभिवृद्धिका लागि एडीबीले यो ऋण स्वीकृत गरेको हो। यी विमानस्थलको क्षमता सुधार, सुरक्षा तथा सञ्चालनको दक्षताका लागि यो ऋण रकम खर्च हुने एडीबीले जनाएको छ। यसले देशको पर्यटन क्षेत्रको अभिवृद्धि र विकास तथा कोभिड–१९ महामारीद्धारा सिर्जित आर्थिक संकटको दुष्प्रभावलाई समेत मत्थर गर्ने बताइएको छ।
त्रिभुवन विमानस्थलमा ट्याक्सी वे को विस्तार तथा ह्याङ्गर निर्माणका लागि गौतम वुद्ध विमानस्थलमा टर्मिनल भवन बनाउन यो रकम खर्च हुनेछ। यो परियोजनाअन्तर्गत सोलार प्यानल र कम विद्युत खपत गर्ने बत्तीहरु जडान गरिने भएको वातावरण मैत्री समेत रहेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।