नेपाल बांग्लादेशसँग २-० गोल अन्तरले पराजित
बांग्लादेशको ढाकामा शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको छ। ढाकाको बंगबन्धु रंगशालामा भएको खेलमा बांग्लादेशलाई जित दिलाउन मोहमद नाबिब नवज जीवन र मबुबुर रहमानले एक एक गोल गरे।
पहिलो हाफको १० औं मिनेटमा मोहमद नाबिबले साद उदीनको क्रसमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ८० औं मिनेटमा रहमानले गोल गरे।
बल पोजिसनमा बलियो पकड बनाएर पनि नेपालले बांग्लादेशको घरेलु टिमविरुद्ध गोल गर्न सकेन। यस जितसँगै बंगलादेशले नेपालसँग साफ च्याम्पियनसिपमा व्यहोरेको हारको बदला लिएको छ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो। ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको दोस्रो मैत्रीपूर्ण २ मंसिरमा हुनेछ।
विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ भने बांग्लादेश समूह ‘ई’ मा रहेको छ।
यो मैत्रिपूर्ण खेलमा बांग्लादेशविरुद्ध नेपालका तीन जना खेलाडी विकास खवास, एरिक बिष्ट र दर्शन गुरुङले डेब्यु गर्ने मौका पाए।