नख्खु जेल ‘ब्रेक’ गर्ने पूर्वसांसद लामाको निधन
२०३३ सालमा नख्खु जेल ‘ब्रेक’ गर्ने पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ। दुई वर्षअघिदेखि दुवै मिर्गौलाले काम गर्न छोडेपछि नियमित उपचार गराइरहेका लामाको आइतबार बिहान ललितपुरको पाटन अस्पतालमा निधन भएको हो।
तत्कालीन नेकपा (एमाले)को केन्द्रीय सदस्य लामा २०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति बनेका थिए भने २०५६ सालमा मकवानपुर–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। लामा जिविस सभापति भएका बेला नै काठमाडौं–तराई जोड्ने मकवानपुको पहाडी क्षेत्रमा सडक निर्माण भएको हो।
२०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भाग्ने १५ जना राजबन्दीमध्ये लामा पनि एक थिए। त्यो बेला झापा विद्रोहका नेताहरू सीपी मैनाली, घनेन्द्र बस्नेत, धर्म घिमिरे, नरेश खरेल, नारद वाग्ले, जीवन मगर, राजेन राजवंशी, हर्क खड्का, भीष्म धिमाल, माधव पौडेल, प्रदीप नेपाल, गोपाल शाक्य, परमेश्वर यादव र अशोक न्यौपानेलगायत १५ जनाले नख्खु जेल ‘ब्रेक’ गरेका थिए।
नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेका अनुसार २०३३ सालको मे दिवसको सन्दर्भमा एक पर्चा छरिएको थियो। उक्त पर्चा लामा कार्यरत कोरियन दूतावासको लिथो मेसिन प्रयोग गरेर गोप्य ढंगले छापिएको थियो। जसमा तत्कालीन राजा वीरेन्द्रविरुद्ध लेखिएको थियो।
त्यतिबेला पक्राउ परेका लामालाई तत्कालीन बागमती विशेष अदालतले ५ वर्ष जेल सजाय र रू. ५ हजार जरिवाना तोकेको थियो। त्यसपछि नख्खु जेल चलान गरिएका उनी १२ चैत २०३३ सालमा १५ जनासहित नख्खु जेल ‘ब्रेक’ गरेर निस्किएका थिए।
२०६२/०६३ सालको जनआन्दोलनपछि पुनर्स्थापित संसदको सदस्य रहेका लामा २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा पराजित भएका थिए। उनले अशोक राईसहित तत्कालीन एमाले छोडेका थिए।
मकवानपुर फाखेलका लामालाई निमोनिया भएपछि १७ कात्तिकमा पाटन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो भने २० कात्तिकदेखि भेन्टिलेटरमा राखिएको थियो। उनको आइतबार बिहान ४ बजे निधन भएको परिवारले जनाएको छ।