देहरादूनको आश्रममा नेपाली विद्यार्थी कुटिए, सरकार र नेपाली दूतावास भन्छ- घटनाबारे बुझ्दैछौं
भारतको देहरादूतस्थित एक आश्रममा बसेर पढ्दै आएका नेपाली विद्यार्थी कुटपिटमा परेका छन्।
आश्रममा बसेका ५९ जना बालबालिका कुटपिटबाट घाइते भएकोबारे राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले ट्वीटरमा लेखेकी छिन्।
अन्सारीले आश्रममा बसेर पढ्दै आएका सिन्धुपाल्चोक, बाग्लुङ, रुकुम, जुम्ला, हुम्ला, रामेछाप लगायत १९ जिल्लाका बालबालिका कुटपिटमा परेको भन्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई ट्वीटमा मेन्सन गरेर ध्यानाकर्षण समेत गराएकी छिन्।
अन्सारीको मेन्सनमा जवाफ दिंदै परराष्ट्र मन्त्री ज्ञवालीले घटनाको सत्यतथ्य बुझ्ने प्रक्रिया शुरु भएको बताएका छन्। यस्तै, राजदूत आचार्यले पनि घटनाबारे खोजखबर गर्ने भन्दै थप सूचना भए +918929601925 मा फोन गर्न र [email protected] मा इमेल गर्न भनेका छन्।