भारतीय सेना प्रमुख १९ कात्तिकमा आउँदै, राष्ट्रपतिले नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने
प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा भारतीय सेनाका प्रमुख (स्थल सेनाध्यक्ष) मनोज मुकुन्द नरवाने आउँदो १९ कात्तिकमा नेपाल भ्रमणमा आउने भएका छन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार साँझ विज्ञप्ति मार्फत भारतीय सेना प्रमुख आउने मिति सार्वजनिक गरेको हो।
तीन दिने भ्रमणमा आउन लागेका नरवानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ प्रधानसेनापति (महारथी) को दर्जा प्रदान गर्ने नेपाली सेनाले जनाएको छ। नेपाल र भारतका सेनाले एक-अर्काका सेनापतिलाई मानार्थ सेना प्रमुखको दर्जा दिने परम्परा छ।
नेपाल भ्रमणमा रहँदा भारतीय सेनाका प्रमुखले प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ।
भारतीय सेना प्रमुखले सैनिक मञ्चमा पुगेर वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा प्रधानसेनापति थापा लगायत सैनिक अधिकृतहरुसँग छलफल तथा अन्तरक्रिया समेत गर्ने सेनाको विज्ञप्तिमा उल्लेख छ।
नेपाली भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर भारतले नक्सा जारी गरेपछि नेपालले ती भूभाग समेटिएको नयाँ नक्सा जारी गरेलगत्तै नरवानेले नेपालबारे विवादास्पद अभिव्यक्ति दिएका थिए। नेपालले नक्सा जारी गर्नुलाई चीनको उक्साहट भनेपछि विवादमा परेका नरवानेको नेपालमा तीव्र विरोध भएको थियो।