कोरोनाबाट निको भएका स्वास्थ्यकर्मीको मुटु रोगका कारण मृत्यु
कोरोनाभाइरस संक्रमण भई निको भइसकेका वीर अस्पतालका एक स्वास्थ्यकर्मीको मुटु रोगका कारण मृत्यु भएको छ।
अस्पतालको कार्डियोलोजी विभागमा कार्यरत पारामेडिक्स कालु सिंहको मंगलबार बिहान ४ बजेतिर वीर अस्पतालमै उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए।
डा. सेन्चुरीका अनुसार, कार्डियोलोजी विभागमा काम गर्ने क्रममा करीब डेढ महीनाअघि संक्रमित भएका सिंह वीरमा भर्ना भएका थिए। उनलाई भर्ना हुने बेला निमोनियाको समस्या पनि देखिएको थियो। एक महीनासम्म अस्पतालमा उपचार गराएका उनी दुई साताअघि डिस्चार्ज भएका थिए।
त्यसयता घरमै आराम गरिरहेका उनी एक्कासी मुटुमा समस्या भएपछि सोमबार राति वीर अस्पतालमा उपचारका लागि भर्ना भएका थिए।
वीरका निर्देशक डा. सेन्चुरीले अस्पतालमा भर्ना हुने बेला स्वास्थ्य अवस्था जटिल भएका उनी पहिलेदेखि नै मुटुको समस्या कार्डियाक फेलियरका बिरामी भएकाले मृत्यु भएको बताए।
केही समयअघि उनको दुई पटक मुटुको शल्यक्रिया गरेर दुई वटा भल्भ फेरिएको थियो। उनले मुटु रोगको नियमित औषधि सेवन गर्दै आएका थिए।