महामारीका कारण खुम्चियो स्वदेशी र विदेशी लगानी, चैतयता ९४ उद्योग मात्र दर्ता
कोरोनाभाइरस संक्रमण महामारीका कारण विदेशी र स्वदेशी व्यवसायीको लगानी क्षमता र आत्मविश्वास दुवै खस्किएकाले निजी क्षेत्रको लगानी विस्तार ठप्पप्रायः छ।
कोरोनाभाइरस संक्रमण महामारीले संसारभरिको अर्थतन्त्र र आर्थिक कारोबार शिथिल बनाएपछि त्यसको असर नेपालमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानीमा देखिएको छ। आर्थिक क्रियाकलाप सुस्ताएको तथा मन्दीका कारण लगानीकर्ताहरु आश्वस्त हुन नसक्दा प्रत्यक्ष वैदेशिक लगानी घटेको हो।
नेपाल राष्ट्र ब्यांकको तथ्यांक अनुसार, गएको चैत महीनायता भदौ मसान्तसम्ममा नेपालमा रु. ६ अर्ब ५१ करोड मात्रै प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। यो अघिल्लो वर्षको यही अवधिका तुलनामा करीब ४६ प्रतिशत थोरै हो। २०७५ चैत–२०७६ भदौसम्मको अवधिमा देशमा रु. ११ अर्ब ९७ करोड वैदेशिक लगानी भित्रिएको थियो।
महामारीका कारण संसारभरिका अधिकांश ठूला अर्थतन्त्रले गहिरो आर्थिक मन्दी भोगिरहेका छन्। आर्थिक क्रियाकलापमा शिथिलता आएको बेला प्रत्यक्ष वैदेशिक लगानीको प्रवाह कमजोर हुने अर्थशास्त्रीहरुले बताउँदै आएका छन्।
यसै पनि नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको आकार थोरै छ। मन्दीले यो लगानीको रकम पनि थप घटाउने देखिएको छ। प्रत्यक्ष वैदेशिक लगानी घट्नुको अर्थ रोजगारी सिर्जना, उद्योग व्यवसायको विस्तार तथा अर्थतन्त्रको उत्पादक क्षमताको सुधारमा असर पर्नु हो।
दशक लामो सशस्त्र द्वन्द्व र राजनीतिक अनिश्चय भोगेको मुलुकले राजनीतिक स्थिरता पाइसक्दा पनि उत्साहजनक रूपमा वैदेशिक लगानी भित्रिन सकेको छैन। सिमेन्टसहितका एकाध क्षेत्रमा पछिल्ला वर्षमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिए पनि ठूला परियोजनाहरुमा अपेक्षा अनुसार लगानी विस्तार हुन सकेको छैन।
गएको चैतयता समग्र उद्योग दर्ता पनि ह्वात्तै खस्किएको देखिनुले लगानी विस्तारका लागि भविष्यसम्म नै असर पर्ने संकेत देखिएको छ। उद्योग विभागका अनुसार, १ चैत २०७६ देखि गत असोज मसान्तसम्ममा रु. ८७ अर्ब ८ करोड लगानीको प्रतिबद्धतासहितका ९४ वटा उद्योग दर्ता भएका छन्।
लगानी बोर्ड मार्फत कैयौं परियोजनाहरुमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन पहल थालिए पनि खासै प्रभावकारी हुन सकेको छैन। नेपालका जलविद्युत्, उत्पादनमूलक उद्योग लगायत क्षेत्रमा लगानीको प्रतिबद्धता जनाएका लगानीकर्ताहरु पनि अझै पर्ख र हेरको स्थितिमा छन्। कोरोनाभाइरस संक्रमण महामारीपछि प्रत्यक्ष वैदेशिक लगानीको विस्तार झन् खुम्च्याउने संकेत देखिएको छ।
गएको चैतयता समग्र उद्योग दर्ता पनि ह्वात्तै खस्किएको देखिनुले लगानी विस्तारका लागि भविष्यसम्म नै असर पर्ने संकेत देखिएको छ। उद्योग विभागका अनुसार, १ चैत २०७६ देखि गत असोज मसान्तसम्ममा रु. ८७ अर्ब ८ करोड लगानीको प्रतिबद्धतासहितका ९४ वटा उद्योग दर्ता भएका छन्। यी उद्योगले ५ हजार २७५ जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन्। सबैभन्दा धेरै १९ जलविद्युत् आयोजनामा रु. ७० अर्ब ६५ करोडको लगानीको प्रस्ताव गरिएको छ।
अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा उद्योग दर्ताको संख्या र रकम दुवैमा उल्लेख्य कमी आएको हो। १ चैत २०७५ देखि २०७६ असोज मसान्तसम्ममा रु. १ खर्ब ८९ अर्ब लगानीको प्रतिबद्धतासहित २०७ वटा उद्योग दर्ता भएका थिए। अघिल्लो वर्षको यही अवधिका तुलनामा गएको चैतदेखि असोजसम्म उद्योगमा लगानी प्रतिबद्धता रकम ५४ प्रतिशतले खुम्चिएको हो। ठूला व्यावसायिक घराना र लगानीकर्ताले लगानी विस्तारको योजना धमाधम स्थगित गरिरहेका छन्।
करीब सात महीनायता आर्थिक क्रियाकलाप असाध्यै सुस्त छ। कामदारले रोजगारी गुमाएका कारण बजारमा वस्तु र सेवाको माग कमजोर छ। व्यवसायीहरुले व्यवसाय टिकाउनै कठिन रहेको बताउँदै आएका छन्। संकट लम्बिंदै गएकाले बजार चलायमान हुने, नयाँ रोजगारी सिर्जना हुने र अर्थतन्त्र विस्तार हुने कहिले हो भन्ने आकलन गर्न झनै कठिन हुँदै गएको छ। कोरोनाभाइरसले सिर्जना गरेको संकटबाट व्यवसायीको जोखिम लिने क्षमता खस्किंदा भविष्यमा निजी क्षेत्रको लगानी थप खस्किने जोखिम छ।
भइरहेकै व्यवसाय विस्तार र नयाँ परियोजनामा लगानीको योजना बनाइरहेका व्यवसायीहरू कोरोनाभाइरसले सिर्जना गरेको आर्थिक शिथिलतासँगै धमाधम आफ्ना योजना स्थगन गरिरहेका छन्। लगानीको वातावरण खल्बलिएको निष्कर्षसँगै व्यवसायीहरू पछाडि हटेका हुन्। निजी क्षेत्रको लगानी नबढ्दा आन्तरिक रोजगारीको सिर्जना र अर्थतन्त्रको उत्पादक क्षमताको विस्तार हुँदैन।
कोरोना संक्रमण महामारीका कारण आर्थिक क्रियाकलाप सुस्त भएपछि देशमा वैदेशिक लगानीको प्रतिबद्धता रकम पनि घटेको छ। उद्योग विभागको तथ्यांक अनुसार, गएको चैतमा अर्थतन्त्रमा महामारीको प्रभाव शुरु भएयता २५ असोजसम्ममा देशमा रु.२७ अर्ब ३६ करोडको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ। यो अघिल्लो वर्षको यही अवधिका तुलनामा करीब २.६ प्रतिशतले थोरै हो। २०७५ चैतदेखि २०७६ असोज २५ सम्ममा देशमा रु.२८ अर्ब १० करोडको वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो।
विभागको तथ्यांक अनुसार, १ चैत २०७६ देखि असोज मसान्तसम्ममा १४१ उद्योगमा विदेशी लगानीको प्रतिबद्धता जनाइएको छ। यी उद्योगहरुको कुल प्रस्तावित लागत रु. २७ अर्ब ४८ करोड छ। यी उद्योगहरुले ४ हजार ६७३ जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन्। पर्यटन सम्बन्धी उद्योगमा सबैभन्दा धेरै वैदेशिक लगानीको प्रस्ताव गरिएको छ। ७९ वटा वैदेशिक लगानीका पर्यटन उद्योग स्थापना गर्न विदेशी लगानीकर्ताले रु. रु. १६ अर्ब ६५ करोड लगानीको प्रतिबद्धता जनाएका छन्। यी उद्योगले मात्रै २ हजार जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन्।
नेपालमा मुख्य रुपमा होटल तथा रेस्टुरेन्ट स्थापनाका लागि विदेशी लगानीकर्ताले उद्योग दर्ता गरेका हुन्।