युनाइटेड, चेल्सी र सिटी बराबरीमा रोकिए, लिभरपुलको जित
इंग्लिस प्रिमियर लिगमा शनिबार राति भएका खेलमा म्यानचेस्टर युनाइटेड, चेल्सी र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन्।
युनाइटेड र चेल्सीबीच युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको खेल गोलरहित बराबरीमा टुंगियो। घरेलु मैदानको लाभ उठाएको युनाइटेडले थुप्रै राम्रा अवसर सिर्जना गरे पनि चेल्सीका गोलरक्षक एडवार्ड मेन्डी त्यसमा बाधक बने। मेन्डीले तीन वटा उत्कृष्ट बचाउ गरेका थिए। खेलपछि युनाइटेडका प्रशिक्षक ओल गुनार सोल्सायरले भने, हामी जितको हकदार थियौं, तर मेन्डीले त्यसो हुन दिएनन्।
अर्को खेलमा पेप ग्वार्डिओलाको सिटीले वेस्ट ह्याम युनाइटेडसँग एक एक गोलको बराबरी खेल्यो। वेस्ट ह्यामले १८औं मिनेटमा एन्टोनियोको गोलमा अग्रता लिएको थियो। सिटीका फिल फोडेनले ५१ मिनेटमा बराबरी गोल गरे।
रक्षापंक्तिका प्रमुख खेलाडी घाइते हुँदा तनावमा रहेका योर्गन क्लोपको लिभरपुलले भने जित निकाल्यो। साविक विजेता लिभरपुलले सेफिल्ड युनाइटेडलाई २-१ गोलले पराजित गरेको हो। खेलमा १३ औं मिनेटमा स्यान्डर बर्जको पेनाल्टी गोलमा सेफिल्डले अग्रता लिएको थियो। तर, पहिलो हाफमा रोबर्टो फिर्मिन्नो र दोस्रो हाफमा डिएगो जोताले गोल गर्दै लिभरपुललाई तीन अंक दिलाए।
लिभरपुल ६ खेलबाट १३ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा छ। शीर्षस्थानको एभर्टनको पनि समान १३ अंक छ, तर एभर्टन गोल अन्तरमा अगाडि छ। एभर्टनले भने पाँच खेल मात्र खेलेको छ।
९ अंकसहित चेल्सी छैटौं स्थानमा छ भने ८ र ७ अंक भएका सिटी र युनाइटेड क्रमशः १२ औं र १५ औं स्थानमा छन्।