पूँजीगत खर्च बढाउँछु: अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्धहरुलाई सच्याउनुपर्ने बताएका छन्।
कतिपय कानूनी प्रबन्धहरुका कारण पूँजीगत खर्च कमजोर अवस्थामा रहेकोले त्यस्ता कानूनहरुलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको अर्थमन्त्री पौडेलले बताएका हुन्। शनिबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै अर्थमन्त्रीले कतिपय कानूनी नियमगत प्रबन्धहरु वा अन्य कारणले बाधा सिर्जना गरेकाले तिनमा सुधार गर्दै पूँजीगत खर्च बढाउने योजनामा रहेको बताए।
यस्तै, अर्थमन्त्री पौडेलले कोभिड-१९ ले सिर्जना गरेको चुनौतीलाई सामना गर्दै आयोजनाहरुलाई निरन्तरता दिई खर्च बढाउने रणनीतिमा आफू रहेको बताए।
उनले भने, "अहिले तुलनात्मक रुपले अपेक्षित मात्रामा पूँजीगत खर्च हुन नसकिरहेको जुन अवस्था छ, यो अवस्थामा सुधार ल्याउनका लागि हामीले कोभिडले सिर्जना गरेका चुनौतीलाई समाना गर्ने अलग्गै योजना रहन्छ। त्यस बाहेक पूँजीगत खर्चमा बाधा सिर्जना गरिरहेका हाम्रा कतिपय कानूनी नियमगत प्रबन्धहरु भए समग्रतामा समीक्षा गर्छौं र आवश्यक निर्णय लिंदै अगाडि बढ्छौं, र पूँजीगत खर्चको कमजोर अवस्थामा उल्लेख्य सुधार ल्याउँछौं।
राजश्व परिचालनको पाटो पनि अहिलेको परिस्थितिमा चुनौतीपूर्ण रहेको अर्थमन्त्री पौडेलले बताए। बन्दाबन्दीका कारण आर्थिक क्रियाकलापमा संकुचनको अवस्था देखा परेको र त्यसले उत्पादन, बजार र आम्दानीमा प्रभाव पारेकाले राजश्व संकलनमा चुनौति थपिएको बताए। तर पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भएको राजश्व संकलनको स्थिति अनुसार लक्ष्यको नजिक पुग्ने सम्भावना देखिएको पौडेलले बताए।
उनले भने, "अहिलेसम्मको स्थिति हेर्दा राजश्व परिचालनको पाटो हाम्रा निम्ति अलिकति चुनौतीपूर्ण बनेर देखा परेको छ। बीचमा बन्दाबन्दीको अवस्था पनि रह्यो। आर्थिक क्रियाकलापमा काफिमात्रामा संकुचनको अवस्था देखा पर्यो। त्यसको प्रभाव उत्पादनमा, बजारमा र राजश्वमा पनि परेको कुरा सत्य हो। अहिले पहिलो त्रैमासिकको अवस्थालाई विश्लेषण गर्दा राजश्वको हाम्रो जुन लक्ष्य हो, केही तल भए पनि त्यसको नजिक पुगेका छौं। आर्थिक वर्षको बाँकी अवधिमा उत्पादनका क्रियाकलापमा जोड दिने रोजगारी प्रवर्द्धनमा जोड दिने र आर्थिक क्षेत्रको संकुचन हटाउन पहल गर्ने मनस्थितिमा छौं। आर्थिक वर्षको अन्त्यसम्म पुग्दा सम्भवतः राजश्वको लक्ष्य पूरा गरौंला या धेरै नजिक पुगौंला भन्ने पूर्वानुमानमा छौं।"
यस्तै सरकार र राज्यका विभिन्न निकायको खर्चको सम्बन्धमा मितव्ययिता अपनाउने विषयमा आफ्नो ध्यान केन्द्रित भएको पनि अर्थमन्त्री पौडेलले बताए। सरकारका खर्चहरुमा मितव्ययिता कायम गर्ने, अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने लगायतको विषयमा आफू रणनीतिक रुपमा अगाडि बढ्ने तयारीमा रहेको पनि उनले स्पष्ट पारे।