सात दिन, १४ सामग्री
‘सम्पादकको सिफारिशः सात दिन १४ सामग्री’ साप्ताहिक स्तम्भ हो, जसमा हामी बितेको साताका उल्लेख्य घटना, सर्वाधिक पढिएका र पढिनुपर्ने समाचार, विचार, विश्लेषणलाई समयक्रम अनुसार प्रस्तुत गरिरहेका छौं। हिजोका यी सामग्रीहरुप्रतिको तपाईंको आजको मूल्यांकनले भोलिको आकलन गर्न सहज हुने हाम्रो विश्वास छ।
१. काेरोनाभाइरसको ‘यल्लो कार्ड’
यो वर्ष २०७७ सालको नयाँ वर्षमा हामी बन्द कोठाभित्र कोभिड–१९ को त्रासबीच बस्न बाध्य थियौं। लाग्थ्यो, दशैंतिहारमा महामारी सकिएला र आफन्तजनसँग भेटन र खुलेर हाँस्न पाइएला। तर, दशैं लागिरहँदा यो भाइरसले झन्ै बिकराल स्वरुप देखाउँदैछ। संक्रमण समुदायस्तरमा फैलिएको छ। हरेकको जीवन यसले प्रभावित पारेको छ। पटकपटकको बन्दाबन्दी, आवतजावतमा अवरोधका कारण दैनिक ज्यालादारी गरेर जीवनयापन गर्नुपर्ने ठूलो समूह भोकै, बेघर र विस्थापित बनिरहेका छन्। बाँचिरहेको यो पुस्ताका लागि यो महामारी जीवनको सबैभन्दा ठूलो लडाईं बनेको छ, जहाँ शत्रु एउटा भाइरस छ, जुन अदृश्य छ।
गएको चैतदेखिको महामारीसँगको लडाईंमा हामीले धेरै कुरा भोगेका छौं, आफ्नाहरु गुमाएका छौं, मृत्युलाई नजिकबाट नियालेका छौं, अनिश्चितताको भयसँगै बाँचिरहेका छौं। तर, यो कहालीबीच पनि हामीले धेरै कुरा सिकेका छौं। अकल्पनीय क्षतिसँगै महामारीले हाम्रो समाजलाई यस्तो धेरै पाठ सिकाएको छ, जसको सिकाईले भविष्यमा यी र यस्ता जोखिमको सामना गर्न हामीलाई मद्दत गर्नेछ। के हुन् त महामारीका ति पाठ ? के हुन् त वर्ष २०७७ का पाठ ?
हिमाल दशैं विशेषः यसवर्षको पाठ
महामारीको पाठः मानवीय स्वास्थ्यमा क्षति, वातावरणलाई बरदान !
महामारीमा स्वास्थ्य क्षेत्र: खेलवाड र अनियमितताको संक्रमण !
वैश्विक महामारीले सिकाएका पाठ
२. कारबाही थाले रोकिन्छन् मापदण्ड विपरीतका क्रसर उद्योग, बाँके र नुवाकोट उदाहरणीय
वातावरणलाई प्रत्यक्ष हानि पुर्याउने गरी स्थापना भएका क्रसर उद्योगलाई कारबाही थाले कानूनी दायरामा ल्याउन सकिने बाँके र नुवाकोटको उदाहरणले देखाएको छ। - मुकेश पोखरेलको रिपोर्ट
३. क्लिन फिड लागू भएपछि १२० च्यानल बन्द, एक वर्षसम्म किन भएन तयारी ?
सरकारले आजबाट विदेशी टेलिभिजन च्यानललाई विज्ञापनरहित (क्लिन फिड) गराएपछि नेपालबाट यसअघि हेर्न पाइने १२० च्यानल बन्द भएका छन्। समयमा नै व्यवसायी र ती च्यानलले पर्याप्त तयारी नगर्दा दर्शकले हेर्न नपाउने भएका हुन्। - राजु बास्कोटाको रिपोर्ट
४. अविवेकी नेतृत्व छान्दा नागरिकले चुकाएको मूल्य
हामीले पुरानो पार्टी भनेर मत दिएका छौं। बाऊ बाजेदेखिको झुकाव हेरेका छौं। निर्वाचनका बेला कुन उम्मेदवारले मासुभात र रक्सी खुवायो भनेर हेरेका छौ। अथवा कुन उम्मेदवारले धेरै रकम दियो भनेर हेरेका छौं। भन्नुको अर्थ मतदानको समयमा हामीले आफ्नो विवेकसम्मत निर्णय गरेका छैनौं। – गोकर्ण अवस्थीको टिप्पणी
५.पहिलो पटक छोएको त्यो हिउँ चितुवा
१६ र १८ नोभेम्बर २०१९ हाम्रो लागि मात्र नभई सिंगो संरक्षण क्षेत्रमैं अविस्मरणीय र महत्वपूर्ण छन्। किनकि दुई वटा हिउँ चितुवामा स्याटलाइट जीपीएस कलर लगाई अनुसन्धान थालिएको थियो। स्याट्लाइट जीपीएस कलर लगाईएका हिउँ चितुवाको नाम जेवोरोङ हिउँ चितुवा संरक्षण समितिले ‘जेवोरोङ’ र ‘सामलिङ’ राखेको थियो। यी नाम गाउँ र गुम्बाको सम्झनामा राखिएको थियो। - संरक्षणकर्मी चन्द्रजंग हमालको अनुभूति
६. सरकार र नेकपाको बदनामी किन बढाउँदैछन् प्रधानमन्त्री ?
कोरोना परीक्षण र संक्रमितको उपचारमा शुल्क लिने निर्णयबाट पछिल्लो समय प्रधानमन्त्री ओली जति आलोचित छन्, उनका निर्णयबाट सरकार र नेकपाको बदनामी पनि उसैगरी बढ्दो छ। - हिमालखबर विश्लेषण
७. कोरोना विरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीमा अत्यासलाग्दो गरी बढ्दैछ मानसिक तनाव
कोरोना कहरमा ज्यानको बाजी राखेर अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुमा संक्रमणको डरसँगै अन्य मनोसामाजिक तथा व्यावसायिक जोखिमका कारण मानसिक तनाव चुलिंदो छ। – सविना देवकोटाको विशेष रिपोर्ट
८. सरकार गलत निर्णय गर्छ, प्रतिरक्षा गर्न नसकेपछि प्रधानमन्त्री भन्छन्– ‘भ्रम फैलाइयो’
फाैजदारी कानून, स्थानीय सरकारकाे कर, बालुवाटार जग्गा प्रकरण, गुठी विधेयक लगायतका विषयमा जनस्तरबाट व्यापक विराेध प्रदर्शन भएपछि प्रधानमन्त्रीले भने- सरकारकाे निर्णयबारे 'भ्रम फैलाइयाे'। पछिल्लाे समय कोरोना परीक्षण र संक्रमितको उपचारमा शुल्क लिने निर्णयबाट प्रधानमन्त्री ओली जति आलोचित छन्, उनका निर्णयबाट सरकार र नेकपाको बदनामी पनि उसैगरी बढेकाे छ। तर प्रधानमन्त्री भन्छन्- 'भ्रम फैलाइयाे'। - तूफान न्यौपानेको रिपोर्ट
९. भारतीय गुप्तचर संस्था 'रअ'का प्रमुख किन आए नेपाल ?
कोरोनाभाइरस संक्रमणको महामारीका बेला अकस्मात् किन काठमाडौं आए त 'रअ' का प्रमुख ? काठमाडौंस्थित उच्च सुरक्षा स्रोतहरुले कात्तिक तेस्रो साता हुन लागेको भारतीय सेना प्रमुखको नेपाल भ्रमणको पूर्वसन्ध्यामा गुप्तचर प्रमुख आएको र उनको भ्रमणको खास कारण थाहा नभएको बताएका छन्। औपचारिक रुपमा परराष्ट्र मन्त्रालय र नेपाली सेनाका अधिकारीहरुले भने भारतीय गुप्तचर प्रमुख काठमाडौं आएकोबारे आफूहरु अनभिज्ञ रहेको प्रतिक्रिया दिए। – हिमालखबरको रिपोर्ट
१०.कोरोना महामारीमा रमिते सरकार : न नागरिकको बेहाल सुन्छ, न अदालतलाई टेर्छ
कोभिड-१९ को परीक्षण निजी प्रयोगशालाबाट समेत नि:शुल्क गर्ने व्यवस्था मिलाउन सर्वोच्च अदालतले आदेश दिएको दुई सातापछि सरकारले सरकारी अस्पतालबाट समेत नि:शुल्क परीक्षण र उपचार नगर्ने निर्णय गरेको छ। गत चैत महीनायता सर्वोच्च अदालतले दिएका नागरिकको स्वास्थ्यसँग जोडिएका यस्ता कैयौं आदेश छन् जसको कार्यान्वयनमा सरकारको पूरै अरुचि देखिन्छ। - तूफान न्यौपानेको रिपोर्ट
११.कोरोनाको परीक्षण र उपचारबाट किन पन्छियो सरकार ?
गएको १५ असोजमा सर्वोच्च अदालतले कोरोना परीक्षण निःशुल्क गर्न सरकारलाई आदेश दिएको थियो। आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएको भन्दै सर्वोच्चले निजी स्तरमा खुलेका प्रयोगशालाबाट पनि कोरोनाको पीसीआर परीक्षण निःशुल्क गर्ने व्यवस्था मिलाउन आदेश दिएको थियो। तर,२ कात्तिकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले १९ असोजमा मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सुनाए, जसमा आइन्दा नागरिकको कोरोनाभाइरसको परीक्षण र उपचारमा सरकारले खर्च नगर्ने उल्लेख थियो। सरकार किन यस्तो अप्रिय, विवादास्पद र लोककल्याणकारी मर्मविपरितको निर्णय गर्नुपर्ने अवस्थामा पुग्यो ? - रामु सापकोटाको रिपोर्ट।
१२. महामारीमा कागजको साबुन निःशुल्क बाँड्ने सफाइ अभियन्ता
नमस्तेलाल भूमि श्रेष्ठ भारतबाट कागजका साबुन ल्याउँछन्। १० वटा साबुनको एउटा प्याक बनाउँछन्। अनि विभिन्न संस्थामा गएर निःशुल्क बाँड्छन्। उनी कोरोना संक्रमणबाट जोगिन नियमित हात धुनुपर्ने सन्देश फैलाइरहेका छन्। - नुनुता राईको रिपोर्ट
१३. पाइलैपिच्छे लुटिदैछन् उपभोक्ता, बदमासी गर्नेलाई कारबाही गर्न नियामक र कानून नै कमजोर
फितलो कानून र भएका कानूनको कार्यान्वयन गर्ने नियामकको इच्छाशक्ति नहुँदा उपभोक्ता पाइलैपिच्छे लुटिएका छन्। उपभोक्ता अधिकार र क्षतिपूर्तिको अभ्यास टाढाको कुरा बनिरहेको छ। – रमेश कुमारको रिपोर्ट
१४. हिमाल दशैं साहित्य विशेष
दशैं भन्ने वित्तिकै हिमाल खबरपत्रिका सँग जोडिने गर्दछ, डबल अंकसहितको दशैं साहित्य विशेष अंक। तर, यसपटक दशैंको डबल अंक तपाईंहरूसमक्ष पुर्याउन हामी असमर्थ छौं। कारण, महाव्याधिको संकट नियन्त्रणका लागि ११ चैत २०७६ मा सरकारद्वारा घोषित बन्दाबन्दीसँगै हिमाल खबरपत्रिका को छापा प्रति स्थगनमा छ र हामी यतिखेर अनलाइन संस्करण हिमालखबरडटकम मा केन्द्रित छौं।
संकट मान्छेलाई नै पर्ने र संकटबीचको संघर्षबाटै सच्चा मानिस बन्ने सिद्धिचरण श्रेष्ठको कविता जस्तै हामीलाई प्रतिकूल परिस्थितिसँग जुध्नेबाहेकको विकल्प छैन। त्यसैले छापा स्थगन भए पनि यसपटक हिमालको 'दशैं साहित्य विशेष' लाई हामीले अनलाइनमा निरन्तरता दिने जमर्को गरेका छौं।
११ कथा, १० कविता र बाँकी ६ वटा निबन्ध संस्मरणको विशेष दशैं साहित्य। एकै प्याकेज र एकै ठाउँ ।