बंगलादेशमा न्यून चापीय रेखा सक्रिय भए पनि दशैँमा पानी नपर्ने
बंगलादेश आसपासमा वर्षा गराउने न्यून चापीय रेखा सक्रिय छ। तर, त्यसले नेपालमा पानी नपार्ने हुँदा ‘हिले दशैँ’ भने नहुने भएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद शान्ति कंडेलले वंगलादेशमा सक्रिय न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा नपर्ने बताइन्। तर, पूर्वी पहाडी क्षेत्रमा भने फाट्टफुट्ट वर्षको संभावना रहेको उनको भनाइ छ।
“पूर्वी पहाडका एक दुई स्थानमा हल्का वर्षा हुन सक्छ । अन्य क्षेत्रमा मौसम सफा हुन्छ। हिले दशैँ हुँदैन,” कंडेलले भनिन् “भारत र बंगलादेशमा केही वर्षा हुनसक्छ।”
यो वर्ष मनसुन गएको ३० जेठमा प्रवेश गरेर ३० असोजमा बाहिरिएको थियो। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन यो वर्ष ढिलो भएको थियो। मनसुन बाहिरिएपछि कात्तिक महीनामा पानी परेको छैन।