साझा पार्टीले भन्यो- 'रअ'का प्रमुखलाई प्रधानमन्त्रीले भेट्नु राष्ट्रिय स्वाभिमानमाथि आक्रमण
साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले भेट गरेकोमा आपत्ति प्रकट गरेको छ।
साझा पार्टीले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले विदेशी गुप्तचर संस्थाका प्रमुखलाई भेट्नुले प्रधानमन्त्रीकै तहबाट नेपालको कूटनीतिक सम्मान र राष्ट्रिय स्वाभिमानमाथि भएको ठाडो आक्रमण भएको टिप्पणी गरेको छ।
'रअ'का प्रमुख सामन्तकुमार गोयलले बुधबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेका थिए। उक्त भेटबारे प्रधानमन्त्री ओलीको सचिवालयले नै सार्वजनिक गरेको हो।
साझाका प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "के रअ प्रमुख गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’का रूपमा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाएका हुन्? यदि हुन् भने प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस्। होइन भने, आफ्ना खुफिया एजेन्सी प्रमुखलाई विशेष विमानबाट नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउनुबाट भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको संकेत गर्दछ।"
विज्ञप्तिमा यदि रअका प्रमुख नेपालको गुप्तचर निकायका प्रमुखको निमन्त्रणामा आएका र त्यस क्रममा प्रधानमन्त्रीसँग ‘शिष्टाचार भेट’ गरेका हुन् भने प्रधानमन्त्रीको कार्यालयले स्पष्ट पार्नुपर्ने समेत भनिएको छ।
"एकातिर परराष्ट्र मन्त्रालयले औपचारिक वार्ताका लागि गरेको पत्राचारको जवाफ दिल्लीले नदिनु र अर्कोतिर खुफिया एजेन्सीका प्रमुख आएर सीधै प्रधानमन्त्रीलाई भेट्नुले नेपाली कूटनीति भारतसँगको सम्बन्धमा कुन तहमा गिरेको छ भन्ने मात्र स्पष्ट पार्दैन, त्यसले अन्य देशहरूसँगको हाम्रा कूटनीतिक सम्बन्धलाई पनि अत्यन्तै हलुका र सस्तो बनाइदिनेछ", विज्ञप्तिमा उल्लेख छ।
कूटनीतिक मर्यादा विपरीत भेट गर्ने यस्तो आचरण रोक्न र परराष्ट्र मन्त्रालयको कूटनीतिक आचारसंहिता पालना गर्न साझा पार्टीले सबै नेतालाई आग्रह समेत गरेको छ।