विश्वव्यापी महामारीका बीच रेमिटेन्स आप्रवाह सकारात्मक, भदौमा ८.१ प्रतिशतले बढ्यो
चालु आर्थिक वर्षको पहिलो दुई महीनामा रेमिटेन्स आप्रवाह ८.१ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको तथ्यांक अनुसार, भदौसम्ममा रु. १ खर्ब ६५ अर्ब ७३ करोड रेमिटेन्स भित्रिएको छ। कोरोनाभाइरस संक्रमण महामारीका कारण वैदेशिक रोजगारीमा रहेका नेपालीको आयसँगै रेमिटेन्स रकम घट्ने अनुमानका विपरीत रेमिटेन्सको आप्रवाहमा सकारात्मक वृद्धि कायम रहेको हो।
मुख्य रुपमा, कोभिड–१९ का कारण हुण्डीको प्रयोग घटेर वैधानिक माध्यमको प्रयोग बढेकाले रेमिटेन्समा वृद्धि भएको अनुमान गरिएको छ।
भन्सार महशुल छल्न नेपालमा आयात हुने वस्तुको न्यून बिजकीकरण गरी रेमिटेन्सको रकम विदेशमै तिर्ने अभ्यास हुँदै आएको सरकारी अधिकारीहरुले अनुमान गर्दै आएका छन्। कोरोनाभाइरसको विस्तारसँगै अहिले आयात व्यापार सुस्त छ।
शोधनान्तर बचतमा, आयात घट्यो
राष्ट्र ब्यांकका अनुसार, भदौसम्ममा सरकारको चालु खाता रु. २६ अर्ब ७ करोड बचतमा छ। अघिल्लो वर्षको यही अवधिमा चालु खाता २२ अर्ब ६९ करोड घाटामा थियो। आयात घटेको तथा नेपालीको वैदेशिक भ्रमण, विद्यार्थीले वैदेशिक शिक्षाका लागि तिर्ने रकममा कमी आएका कारण चालु खाता घटेको हो। त्यस्तै, शोधनान्तर स्थिति रु. ६७ अर्ब ६३ करोड बचतमा पुगेको छ।
भदौ मसान्तसम्ममा देशको विदेशी विनिमय सञ्चिती रु. १४ खर्ब ३३ अर्ब ६७ करोड बराबर पुगेको छ। यो सञ्चिती रकमले १४.९ महीना बराबरको वस्तु र सेवा आयात गर्न मिल्छ।
तथ्यांक अनुसार, भदौसम्ममा वस्तु आयात रु. २२.१ प्रतिशतले घटेको छ। आर्थिक क्रियाकलाप सुस्त भएर माग खस्किएका कारण भदौसम्ममा रु. १ खर्ब ७८ अर्ब ८५ करोडको आयात भएको हो। पेट्रोलियम पदार्थ, सवारी साधन र पार्छपूर्जा, मेशिन, तयारी पोशाक, कच्चा पाम तेल आदि वस्तुको आयात घटेको छ। यद्यपि, चामल, कच्चा सोयाबिन तेल, दूरसञ्चार उपकरण आदिको आयात बढेको छ। यो अवधिमा निर्यात भने १०.५ प्रतिशतले बढेर रु. २० अर्ब ४४ करोड पुगेको छ।