उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी दर्ता
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन्।
बुधबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन्। ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराएका छन्।
ढकालले गएको फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रम गरी वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए।
महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसीर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ।
गएको चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोरोनाभाइरस संक्रमण महामारीका कारण स्थगित भएको थियो। त्यसपछि पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन।
महासंघको चुनावका लागि उम्मेदवारहरुले ५ कात्तिक बुधबारदेखि ४ मंसीरसम्म मनोनयनपत्र दाखिला गर्नसक्नेछन्। मनोनयन दाखिला इमेलबाटै गर्न सकिने र त्यसको सक्कल कागजात ४ मंसीरभित्र महासंघमा बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ।