क्रिष्टियानो रोनाल्डोलाई कोरोना संक्रमण
स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। पोर्चुगल फुटबल महासंघले मंगलबार साँझ यसको पुष्टि गरेको गोलडटकमले जनाएको छ।
इटालियन सिरी ए क्लब युभेन्टसबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डो अहिले अन्तर्राष्ट्रिय ब्रेक अन्तर्गत् पोर्चुगलको राष्ट्रिय टिमसँग व्यस्त छन्।
महासंघले मंगलबार बिहान गरिएको परीक्षणमा रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई टिमको अभ्यासबाट अलग गरिएको जनाएको छ।
रोनाल्डोले बुधबार हुने पोर्चुगलको स्वीडेनविरुद्धको खेल गुमाउने छन्। त्यस्तै उनले आउँदो साता हुने युभेन्टसको यूरोपेली च्याम्पियन्स लिगअन्तर्गत् डाइनामो किभविरुद्धको खेलसमेत गुमाउनेछन्।
विश्व फुटबलका समकालीन सफल खेलाडीमध्येका रोनाल्डो दुई वर्षअघि स्पेनिस क्लब रियल मड्रिडबाट इटलीको युभेन्टसमा आबद्ध भएका थिए। रोनाल्डो पोर्चुगलको राष्ट्रिय टिमका कप्तानसमेत हुन्।