५९ प्रतिशत संक्रमित घरमै आइसोलेसनमा, विज्ञ भन्छन्–‘बृध्द बृध्दालाई घरमा छुट्टै राख्न थालौँ’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २६ असोजको तथ्यांक अनुसार मुलुकमा पछिल्लो २४ घण्टामा ४ हजार ४७ व्यक्ति कोरोना संक्रमित भएका छन्। यीमध्ये १ हजार ५६५ महिला र २ हजार ४८२ पुरुष कोरोना संक्रमित छन्।
सोमबारसम्ममा देशभर कोरोना संक्रमित हुने व्यक्तिको संख्या कुल १ लाख ११ हजार ८०२ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मनाङबाहेक मुलुकका ७६ जिल्लामा कोरोनाका सक्रिय संक्रमित छन्।
कारोनाका सक्रिय संक्रमितको संख्या २६ असोजसम्ममा ३३ हजार ८८० पुगेको छ, भने ६४५ जनाको कोरोना कारण मृत्यु भएको छ। हाल मुलुकमा भएका ३३ हजार ८८० सक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै अर्थात ५८.९० प्रतिशत घरमै आइसोलेसनमा छन्।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार सोमबारसम्ममा घरमै आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या १९ हजार ९५७ पुगेको छ। यस्तै, १३ हजार ९२३ संक्रमित संस्थागत आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाएका ९ जनामध्ये ६ जना ६० वर्ष भन्दा माथिका व्यक्ति छन्। आइतबार सार्वजनिक भएको पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु भयो। यीमध्ये १६ जना ६० वर्षदेखि माथिका व्यक्ति छन्।
२६ असोजसम्ममा कोरोनाका कारण सिकिस्त बनेका २७९ संक्रमितको आईसीयू र ६७ संक्रमतिको भेन्टिलेटरको सहायतमा उपचार भइरहेको छ। पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाएका ९ जनामध्ये ६ जना ६० वर्ष भन्दा माथिका व्यक्ति छन्। आइतबार सार्वजनिक भएको पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु भयो। यीमध्ये १६ जना ६० वर्षदेखि माथिका व्यक्ति छन्।
स्वास्थ्य मन्त्रालयका पछिल्ला तथ्यांकहरुले मुलुकमा कोरोना भाइरसको संक्रमणदर बढीरहेको, कारोनाका सक्रिय संक्रमितमध्ये अधिकांश घरमै आइसोलेसनमा रहेको र कोरोनाका कारण ६० वर्षभन्दा माथिका धेरै व्यक्तिको ज्यान गइरहेको देखाएको छ। यस्तो अवस्थालाई चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरुले ‘बिजोगको स्थिति’ भनेका छन्।
धुलिखेल अस्पतालको जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम प्रमुख डा. विराज कर्माचार्य अहिले विभिन्न कामकाजका शिलशीलामा बाहिर निस्केका युवा उमेर समूहका व्यक्तिले घरभित्र रहेका बाबु आमा वा अन्य वृद्ध आफन्तलाई कोरोना सारेको देखिएको बताउँछन्। “घरमै आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या बढेसँगै त्यहाँ बसिरहेका बृद्धबृद्धलाई पनि कोरोनाले छुन थालेको छ”, डा. कर्माचार्य भन्छन्, “यस्तो अवस्थामा युवाहरु त निको होलान्, तर बृद्धबृद्धाको ज्यान गइरहेको छ।”
ब्यांक तथा अन्य विभिन्न कार्यालयमा काममा जाने र पसल गरेर साँझ घर फर्किनेहरुबाट उनीहरुको परिवारमा भएका बाबुआमालाई कोरोना संक्रमण हुन थालेका कारण अब बचाउने उपाय अवलम्बन गर्न उनको सुझाव छ।
डा. कर्मचार्यका अनुसार घर बाहिर काम वा व्यापार व्यावसायको शिलशिलामा निस्कने व्यक्तिहरुको सम्पर्कबाट घरमा रहेका बाबुआमालाई छुट्टै राख्नुपर्छ।
उनी घर बाहिर निस्किरहने व्यक्तिबाट बृद्धबृद्धालाई छुट्टै राखेर खाना खुवाउने, छुट्टै टावेल प्रयोग गर्ने, सकेसम्म छुट्टै चर्पीको प्रयोग गर्ने, कोठाभित्र बस्दा हावाका लागि झ्याल खुल्लै राख्ने र कोठा गुम्म नपार्ने, यदी बृद्धबृद्धाको नजिक जानै परे मास्क लगाउने जस्ता उपाय उपनाउनु पर्ने बताउँछन्।
“कम्तिमा पनि दुईदेखि तीन हप्तासम्म यसरी सावधानी अपनाएर संक्रमणको चेन ब्रेक गर्न र घरमा भएका बृद्धबृद्धालाई बचाउन सकिन्छ”, डा. कर्मचार्य भन्छन्।
यसअघिसम्म अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आफ्ना कारण परिवारमा कोरोना सर्ने डरले अस्पतालमै वा अस्पताल भन्दा बाहिरै आइसोलेसनमा बस्दै आइरहेका थिए। तर, अब संक्रमणको जोखिम बढेका कारण घर बाहिर निस्कने जो कोही व्यक्ति पनि बृद्धबृद्धा भन्दा टाढै रहेर बस्नुपर्ने अवस्था आएको र यसले कोरोना सार्ने जोखिम कम गराउने उनको भनाई छ।